बरहथवा–सर्लाही प्रहरीले ११ किलो लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
गत सोमबार बरहथवा नगरपालिका–१६ गंगापुर स्थित बागमती नहरमा चेक जाँचका क्रममा लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८, पानतले निवासी २९ वर्षका वाङ दोर्जे थिङ र सँगै मोटरसाइकलमा सवार हरिवन नगरपालिका–४, तीन घरे निवासी ३० वर्षका सागर लामा रहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
बागमती प्रदेश ०२–०२१ प २४४४ नम्बरको मोटरसाइकलमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेका उनीहरूलाई शङ्का लागेर चेक जाँच गर्ने क्रममा उनीहरूले बोकेको झोलाबाट ५ किलो ५०० ग्रामको दरको दुई वटा गाँजाको पोका फेला परेको प्रहरीले जनाएको हो । पक्राउ परेका उनीहरूलाई बरामद गाँजा र उनीहरु सवार मोटरसाइकल समेत नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
उनीहरु दुवै जना विरुद्ध लागू औषध गाँजा मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । घटना सोमबार बिहान झिसमिसेको भएपनि प्रहरीले चार दिनपछि बिहीवार मात्र सार्वजनिक गरेको हो ।