हरिवन–सर्लाहीको हरिवनमा आज(शनिबार)बाट तीन दिने हरिवन व्यापार तथा औद्योगिक मेला सुरु हुनलागेको हो ।
उद्योग वाणिज्य सङ्घ हरिवनको आयोजनामा हरिवन–११, बजार क्षेत्रमा भव्य व्यापार तथा औद्योगिक मेला सुरु गर्न लागेको सङ्घका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए । कोरोना सङ्कट पछि निरन्तर ओरालो लागेको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्य सहित मेलाको आयोजना गरिएको सङ्घले जनाएको हो । मेला ३ गते सम्पन्न हुनेछ ।
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल)को प्रमुख आतिथ्यता तथा उपमेयर हरिमाया घलानको विशिष्ट आतिथ्यतामा मेलाको उद्घाटनको तयारी भएको आयोजकले जनाएको हो । यस पहिला विभिन्न जातजातिको झाकी तथा सङ्घ संस्थाहरूको र्यालीले बजार परिक्रमा गरिने तयारी भएको छ । मेलाको आकर्षणको रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती समेत रहने सङ्घका सदस्य युवराज भण्डारीले जानकारी दिए ।
घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा र कर दाता सेवा कार्यालय समेतको सह–आयोजनामा मेला सञ्चालन गरिएको सङ्घका सदस्य भण्डारीले बताए । मेलामा यस क्षेत्रका व्यापार र घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको प्रदर्शनीका लागि २५ वटा स्टल समेत निर्माण गरिएको आयोजक उद्योग वाणिज्य सङ्घ हरिवनले जनाएको हो ।