Thursday, December 12, 2024

सर्लाही सहित तराईमा चिसो बढ्यो, जनजिवन प्रभावित

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाही सहित तराईको जिल्लामा तीन दिन देखी चिसो बढ्दै गएको छ । 

बिहीबारबाट एक्कासि चिसो बढ्न थालेपछी जनजिवन समेत प्रभावित बन्दै गएको हो । यस पहिला बिहान बेलुका मात्र चिसो हुँदै आएकोमा बिहीबारबाट एक्कासि कुहिरो र हुस्सुले छोपेर दिनभरी नै घामलाग्न छोडेपछि स्थानीय चिसोले प्रभावित भएका छन् । तीन दिन देखी लगातार हुस्सु लागेर चिसो महसुस भइरहेको सर्लाहीको बागमती नगरपालिका–२, निवासी साइली तामाङले बताइन ।

दिन प्रतिदिन चिसो बढ्दै जादा स्थानीयलाई दैनिक कामकाजमा निस्कन समेत समस्या भएको छ । चिसोले सबै भन्दा धेरै वृद्धवृद्धा, बालबालिका र दैनिक ज्यालामजदुरी गर्ने परिवारलाई प्रभाव पारेको छ । स्कुल जानु पर्ने बालबालिकाहरू कठ्याङ्ग्रिने गरेका स्थानीय रमा उप्रेतीले बताउनु भयो । एक्कासि बढेको चिसोले स्वास्थ्यमा समेत समस्या पारेको उहाँको भनाई छ । चिसाे बढे सँगै जिल्लाका विपन्न परिवारलाई जाडो कसरी छल्ने ? भन्ने चिन्ताले पिरोल्न थालेको छ । यहाँका विपन्नहरू हरेक वर्षा जाडाेमा पराल ओड्ने र परालनै ओच्छाउने गरेर जाडो छल्न बाध्य छन् ।

यस्तै मौसम परिवर्तनका कारण जिल्लामा रुघा खोकी तथा भाइरल ज्वरोका विमारी समेत बढेका स्वास्थ्य कार्यालय सर्लाहीका निमित्त प्रमुख डाक्टर नवल किशोर झाले बताए । ‘‘एक्कासि परिवर्तन भएको मौसमले विभिन्न भाइरल सङ्क्रमण गराउँछ ।’’ उनले भने, ‘‘त्यसैले यस्तो मौसममा ज्वरो रुघा खोकीका विमारी बढ्ने गर्छन् ।’’ यस्तो बेलामा कोल्ड डाईरिया (झाडा पखाला) लगायतको समस्या हुन सक्ने भएकोले स्वास्थ्यको ख्याल गर्न समेत चिकित्सकहरूको आग्रह छ । 

चिसोबाट बच्न तातो र न्यानो कपडा लगाउने, ज्वरो रुघाखोकी लामो समय लागेमा तत्काल अस्पताल जाने, सफा, तातो र झोलिलो खानेकुरा बेलाबेलामा खानुपर्ने सर्लाहीको मलङ्गवामा रहेको स्तुति सौम्य अस्पतालका डाक्टर गुणेश्‍वर झाको भनाई छ । चिसोमा छालामा हुने सङ्क्रमण बढ्ने उनको भनाई थियो । 

यस्तै हुस्सु र कुहिरोका कारण दृष्य कम्जोर हुने भएकाले यात्रा गर्दा विषेश सावधानी अपनाउने ट्राफिक प्रहरीले आग्रह गरेको छ । सवारी सञ्चालन गर्दा उपयुक्त बत्तिको प्रयोग गर्न, बिस्तारै यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही आग्रह गरेको हो । तराईको जिल्लामा अझै केही दिन बिहान बेलुका र रातको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles