Thursday, December 12, 2024

सर्लाही प्रहरीले १० जना फरार प्रतिवादी अदालतमा बुझायो

ताजा / भरखरै प्राप्त

मलङ्गवा–विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ । 

सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले विभिन्न मुद्दामा फरार रहेका १० जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन तथा अनुसन्धानको लागि जिल्ला अदालत सर्लाहीमा बुझाएको हो । पक्राउ पर्नेहरूमा लागू औषध मुद्दाका प्रतिवादी सर्लाहीको बरहथवा नगरपालिका–२, का राजु प्रसाद कुशवाह रहेका छन् । कुशवाहलाई अदालतले पुर्पक्षको लागि जिल्ला कारागार चलान गरेको छ । 

यस्तै चोरी मुद्दाका फरार प्रतिवादी मलङ्गवा नगरपालिका–४, निवासी मोहमद मानुदिन मंसुरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सर्लाहीले चोरी मुद्दाका प्रतिवादी मंसुरीलाई ५ हजार जरिवाना गरेको हो ।  

यस्तै जबरजस्ती करणी मुद्दामा पक्राउ गरिएका प्रतिवादी चन्द्रनगर गाउँपालिका–१, का नागेन्द्र राय विरुद्ध थुनमा राखेर अनुसन्धान भइरहेको छ । प्रहरीले पक्राउ गरेको बैङ्किङ कसुर मुद्दाका प्रतिवादी हरिवन नगरपालिका–१० का कृष्ण कुमार मैनाली विरुद्ध पनि थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस्तै मोटरसाइकल चोरी मुद्दाका प्रतिवादी मलङ्गवा नगरपालिका–४, मोहमद जमालुदिन मन्सुरी रहेका छन् । मन्सुरी विरुद्ध जिल्ला अदालत सर्लाहीले ५ महिना १० दिन कैद फैसला गरेको थियो । 

यसैबीच ज्यानमार्ने उद्योग मुद्दाका प्रतिवादी रौतहटको माधवनारायण नगरपालिका–६, निवासी राम किशुन साह बनियाँ र सन्तोष साह बनियाँ रहेका छन् । उनीहरु विरुद्ध अदालतले जनही १५ हजार जरिवाना तोकेको थियो । धरौटी बापतको रकम जम्मा गरेर उनीहरु रिहा भएका प्रहरीले जनाएको छ । 

लेनदेन मुद्दाका प्रतिवादी बलरा नगरपालिका–९, अचलगढकी निर्मला देवी र वडा नम्बर–११, छतौनाका भभलु राय यादवलाई पनि प्रहरीले फैसला कार्यान्वयनको लागि पक्राउ गरी अदालत बुझाएको हो । अदालतले निर्मलालाई १ सय ३३ रुपैयाँ ५३ पैसा जरिवाना फैसला गरेको थियो । भने, भभलुलाई ७० रुपैयाँ ४२ पैसा जरिवाना फैसला गरेको थियो ।

यस्तै ठगी मुद्दाका फरार प्रतिवादी कन्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२, निवासी कविता राणा र सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, राम स्नेही ठाकुरलाई पनि प्रहरीले पक्राउ गरी अदालत उपस्थित गराएको हो । अदालतले कवितालाई ३० हजार र ठाकुरलाई ५० हजार जरिवाना फैसला गरेको थियो । दुवैजनाले धरौटी वापतको रकम जम्मा गरी छुटेका जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles