हरिपुर–सर्लाही प्रहरीले ट्रक सहित २८ लाख बढीको सामान राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।
आइतबार नवलपुर–मलङगवा सडक खण्ड अन्तरगत हरिपुर नगरपालिकाको हरैयाबाट प्रहरीले ८ लाख ५२ हजार ६ सय ४५ रुपैयाँ बराबरको शङ्कास्पद बिजबिजक सहित विभिन्न सामान बरामद गरेको हो । नवलपुरबाट मलङ्गवा तर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ क ००४३ नम्बरको ट्रक चेक जाँचका क्रममा लसुन, सुपारी र भटमास बरामद भएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार ट्रकबाट २२२ बोरा लसुन, ५ बोरा सुपारी र २० बोरा भटमास बरामद भएको हो । बरामद सामानको बजार मूल्य ८ लाख ५२ हजार ६ सय ४५ रुपैयाँ र ट्रकको २० लाख सहित २८ लाख ५२ हजार ६ सय ४५ रुपैयाँ कायम गरी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।