Thursday, December 12, 2024

सर्लाहीमा पहिलो पटक राष्ट्रिय बज्जिका कविता प्रतियोगिता सम्पन्न

ताजा / भरखरै प्राप्त

मलङ्गवा–पहिलो पटक सर्लाहीको मलङ्गवामा राष्ट्रिय बज्जिका कविता प्रतियोगिता सम्पन्न भएको छ ।

शनिवार मलङ्गवा नगरपालिकाको सभाहलमा पहिलो पटक बज्जिका भाषाको कविता वाचन प्रतियोगिता सम्पन्न भएको बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र कुशवाहले जानकारी दिए । प्रतियोगितामा सर्लाही सहित महोत्तरी, रौतहट र बाराका समेत गरी २८ जनाले सहभागिता जनाएका थिए । अनौपचारिक रुपमा थप ७ वटा सृजना प्राप्त भएको उहाँको भनाई थियो ।

प्रतिस्पर्धीहरू मध्यबाट रौतहटको गरूडाकी ममता यादवको शिक्षकको चिरहरण शीर्षकको कविताले प्रथम पुरस्कार प्राप्त गरेको छ । भने, सर्लाहीका बलराका मनमोहन सिंह(मनोहर)को जलेश्वरनाथ महिमा शीर्षकको कविताले दोस्रो र रौतहट मौलापुरका सरोज पटेलको बलवान समय शीर्षकको कविताले तेस्रो पुरस्कार जित्न सफल भएको हो । उत्कृष्ट सृजना पस्कने सर्जकहरुलाई क्रमै सँग ११ हजार, ७ हजार र ४ हजार १ सय नगद सहित प्रमाणपत्र तथा उपहार समेत प्रदान गरिएको आयोजक बज्जिका साहित्य समाज सर्लाहीले जनाएको हो ।

प्रतिस्पर्धीहरूलाई कार्यक्रमका प्रमुख अतिथि मलङ्गवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले वितरण गर्नुभएको कार्यक्रमका अध्यक्ष कुशवाहले बताए । प्रतिष्पर्धाका मल्याङ्कन कर्तामा बज्जिका कवि सर्लाहीका राजेन्द्र ठाकुर, महोत्तरीका अजय कुमार झा र रौतहटका किशुन दियाल यादव(कृष्णा) रहेका थिए । हिन्दुहरूले विषेश आस्थाको साथ मनाउने छठ पर्वको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । यस किसिमको कार्यक्रममा भाषा तथा साहित्य सृजना र संरक्षणमा टेवा पुग्ने आयोजकको अपेक्षा छ ।

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, बज्जिका शिरोमणि सञ्जय साह(मित्र), राराब क्याम्पस जनकपुरका प्रमुख तथा बज्जिका साहित्यकार अजय कुमार झा, बज्जिका अभियन्ता तथा पूर्व प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेश्वर सिन्हा लगायतको विशिष्ट आतिथ्यता रहेका थियो । यस क्षेत्रमा बज्जिका भाषा बोलिने भएपनि सुसुप्त अवस्थामा रहेकोले यसको संरक्षणका लागि अभियान सञ्चालन गरिएको आयोजकको भनाई छ ।

बज्जिका भाषा मधेश प्रदेशमा सबै भन्दा धेरै बोलिने भाषाको तेस्रो स्थानमा छ । कविता वाचन कार्यक्रममा लक्ष्मी इन्टरप्राइजेज एण्ड जेनरल सप्लायर्स प्रायोजक तथा मलङ्गवा नगरपालिका सहयोगी संस्थाको रुपमा रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles