बरहथवा–निर्माणधिन घरको पर्खाल भत्किएर सर्लाहीको बरहथवामा एक मजदुरको मृत्यु भएको छ । भने, एक जना घाइते भएका छन् ।
आइतबार दिउसो बरहथवा नगरपालिका–७, मा राजनारायण साहको निर्माणधीन घरको पर्खाल भत्किएर च्यापिँदा बसवरिया गाउँपालिका–३, बगलवा बस्ने होरीलाल माझीको १७ वर्षका छोरा रविन माझीको मृत्यु भएको हो । घर निर्माण कार्यमा मजदुरको रुपमा खटिएका माझी सहित दुई जनालाई घरको पर्खाल भत्किएर थिचेको थियो ।
घटना लगतै स्थानीयले उपचारको लागि बरहथवा बजार स्थित भेनस अस्पतालमा पुर्याए पछि माझीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो । सोही घटनामा परेर घाइते भएका अर्का युवक बसवरिया गाउँपालिका–३, क्याम्प चोकका सिताराम महतोका छोरा १९ वर्षका विकास महतोको बरहथवा स्थित ह्याप्पी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतक युवकको सव मुचुल्का गरी परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।