ईश्वरपुर–सर्लाहीको ईश्वरपुरमा सुरु भएको ६ दिने निशुल्क आँखा शिविरको पहिलो दिन २ सय ७ जनाले आँखा जाँच गराएका छन् ।
जिल्लाको ईश्वरपुर नगरपालिका–९, गौचरणमा सुरु भएको शिविरमा मङ्गलवार पहिलो दिन २ सय ७ जनाको आँखा चेक जाँच गरिएको भरतपुर आँखा अस्पताल शाखा ईश्वरपुरले जनाएको हो । शिविरमा आँखा जाँच गराएका मध्य ५४ जनामा मोतिया विन्दुको समस्या देखिएको छ । भने, ७ जनाको आँखामा मासु पलाएको फेला परेको थियो ।
यस्तै शिविरमा आएका मध्य ३५ जनालाई निशुल्क चस्मा र अन्यलाई औषधी वितरण गरिएको शाखाका प्रमुख चन्दन मनी रामले जानकारी दिनुभयो । नेपाल नेत्र ज्योति सङ्घ, हिरालाल सन्तुदेवी प्रधान नेत्र बिज्ञान अध्ययन संस्थान भरतपुर आँखा अस्पताल चितवन तथा ईश्वरपुर नगरपालिकाको संयुक्त आयोजनामा सुरु २७ गते मङ्गलवारबाट सुरु भएको निशुल्क शिविर मंसिर २ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
शिविरमा फेला परेका आँखाका गम्भिर प्रकृतिका विमारीको समेत शिविरको अन्तिम दिन निशुल्क शल्यक्रिया गरिने भरतपुर आँखा अस्पतालले जनाएको हो । आँखा सम्बन्धी समस्या भएका जो कोहीले शिविरमा उपस्थित भएर सेवा लिन सक्ने छन् ।