Thursday, December 12, 2024

‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार’ प्रदान तथा कृति विमोचन

ताजा / भरखरै प्राप्त

लालबन्दी–‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार’ वितरण तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

लालबन्दी नगरपालिका–६, स्थित कम्युनिटी आवासीय विद्यालयमा आयोजित कार्यक्रमका बिच स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न गरिएको आयोजक लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीले जनाएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा छनौट भएका कृति तथा श्रष्ठाहरुलाई पुरस्कार प्रदान तथा सम्मान गरिएको हो ।

लालबन्दी नगर वाङ्मय परिषद्ले प्रत्येक वर्ष प्रदान गर्ने ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार’ का लागि यस वर्ष पत्रकार अखण्ड भण्डारीद्वारा लिखित ‘बोरा’ उपन्यास छनौट भएको थियो । परिषद्ले गठन गरेको पुरस्कार छनौट समितिले विभिन्न कृति मध्ये भण्डारीको उपन्यासलाई उत्कृष्ट ठहर गर्दै पुरस्कारका लागि सिफारिस गरेको जनाएको थियो ।  

अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक समेत रहेका भक्तपुर सूर्यविनायक निवासी भण्डारीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राई, लालबन्दी नगरपालिकाका मेयर एवं लालबन्दी नगर वाङ्मय परिषद्का प्रमुख संरक्षक बासुदेव अधिकारी, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने लगायत भएर सम्मान गरे । भण्डारीलाई नगद ५० हजार र सम्मान–पत्रले सम्मान गरिएको हो ।

यस्तै ‘साहित्यिक शहीद कृष्णलाल अधिकारी स्मृति पुरस्कार’ का लागि यस वर्ष काठमाडौँ महानगरपालिका–५, गहना पोखरी निवासी वरिष्ठ साहित्यकार रोचक घिमिरे छनौट भएका थिए । घिमिरेलाई पनि ५० हजार रुपियाँ नगद तथा सम्मान–पत्रसहित सम्मानित गरिएको परिषद्ले जनाएको हो ।

परिषद्ले यस वर्षको ‘स्थानीय प्रतिभा पुरस्कार’ का लागि लालबन्दी नगरपालिका–६, निवासी पत्रकार शङ्कर श्रेष्ठलाई छनौट गरेको थियो । श्रेष्ठलाई पनि नगद २५ हजार रुपियाँ र सम्मान–पत्रसहित सम्मान गरिएको छ । सोही कार्यक्रमका बिच विभिन्न स्रष्‍टाहरूको चारवटा कृति समेत विमोचन गरिएको थियो ।

सुमन घिमिरे ‘अग्रिम’ को कविता सङ्ग्रह ‘प्यालासँग नयाँ कविता’, घिमिरेकै लालबन्दीका मेयर अधिकारीको जीवनीमा लेखिएको ‘समाजसेवामा बासुदेव अधिकारी’, विवश पौडेलको गजल सङ्ग्रह ‘धर्तीको जुन’ र देवराज पौडेलको कथासङ्ग्रह ‘मानवता हराएका शहरहरू’ विमोचन गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य चेतनाथ धमला र गजलकार डा. घनश्याम न्यौपाने विशिष्ट अतिथि रहेको कार्यक्रममा कवि भूपिन खड्का, कवि निमेश निखिल, कवि प्रतीक घिमिरे, गजलकार सुरेश सुवेदी, कवि निरञ्जना चन्द ‘निरु’, गजलकार भाष्करकाजी, कवि रमेश भट्टराई, कवि पूर्णकला घिमिरे, कवि यस लामा, गजलकार सुमित्रा आचार्यलगायतका कवि तथा कवयित्रीहरुले आ–आफ्नो सिर्जना वाचन गरेका लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles