राजु तामाङ, बागमती– सर्लाहीको बागमतीमा भोलिबाट सुरु हुनलागेको प्रथम जिरायत कप फुटबल प्रतियोगितामा आयोजक दुई टिम सहित १८ वटा टिम सहभागि हुने भएका छन् ।
आयोजक ॐ युवा क्लबको खेल मैदान बागमती नगरपालिका–४, जिरायतमा आज पत्रकार सम्मेलन आयोजना गरी खेल तालिका सार्वजनिक गरिएको हो । तालिका अनुसार मंसिर १० गते देखी २० गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा सर्लाही, महोत्तरी र बाराका क्लबहरुले भाग लिएका क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेल नमोबुद्ध युवाक्लब हजार बिगाहा र टुटेश्वर युवा क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।
दाेस्रो दिनबाट दिउसो १ र ३ बजे गरी दुई दुई वटा खेल हुने खेल संयोजक मनोज रसाइलीले जानकारी दिए । २० गते फाइनल खेल हुने प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार ५१ रुपैयाँ सहित प्रथम जिरायत कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद २५ हजार ५१ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको हो ।
खेलमा विधागत पुरस्कार र दैनिक म्यान आफ दि म्याच पुरस्कार समेत व्यवस्था गरिएको आयोजकले जनाएको हो । नकआउट चरणमा हुने जिल्ला स्तरीय प्रतियोगिताको १७ खेलको लागि कुल लागत तीन लाख अनुमान गरिएको क्लबका अध्यक्ष विश्वकर्माले जानकारी दिए । स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएका हो ।
खेलको जानकारी दिने उद्देश्य सहित आयोजित पत्रकार सम्मेलनमा बागमती नगरपालिका–४, का वडा सदस्य राम सुन्दर महतो, बरम बाबा सामुदायिक वनका अध्यक्ष लक्ष्मण महतो, क्लबका पूर्व अध्यक्ष प्रदिप आले, जिरायत बजार व्यवस्थापन समिति सचिव अर्जुन लामा बोम्जन, वडा वाइसिएल इन्चार्ज अर्जुन बोम्जन लगायतको उपस्थिति रहेको थियो ।