राजु लो तामाङ, हरिवन–सर्लाहीको हरिवनमा भव्य कार्यक्रमका बिच आज(शनिबार)बाट तीन दिने हरिवन व्यापार तथा औद्योगिक मेला २०८१ सुरु भएको छ ।
शनिवार हरिवन नगरपालिका–११, स्थित राजमार्ग सँगै उद्योग वाणिज्य सङ्घ हरिवनको आयोजनामा तीन दिने व्यापार तथा औद्योगिक मेलाको उद्घाटन गरिएको सङ्घका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए । मेलाको हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल)ले उद्घाटन गरेका हुन् ।
कोरोना सङ्कट पछि निरन्तर ओरालो लागेको उद्योग तथा व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्य सहित मेलाको आयोजना गरिएको अध्यक्ष पोतेले जानकारी दिए । मेला ३ गते सोमबार दिउसो ३ बजे समापन गरिने आयोजकले जनाएको छ ।
मेलाको उद्घाटन समारोहमा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको विशिष्ट आतिथ्यता रहेको थियो । भने, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख संजिव कुमार देव, सगुन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव ढकाल, नेकपा समाजवादी पार्टीका नेता भरत कार्की लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजन केसीले स्वागत मन्तव्य राखेका थिए ।
मेला उद्घाटन समारोह अघि विभिन्न जातजातिको झाकी तथा सङ्घ संस्थाहरूको र्याली हरिवन बजार परिक्रमा गरी मेला स्थल पुगेका थिए । नेवार समुदायको सांस्कृतिक नाचको मानिने लाखे नाच समेत उद्घाटनको अवसरमा प्रस्तुत गरिएको आयोजकले जनाएको हो ।
मेलाको मुख्य आकर्षणको रुपमा राती राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक प्रस्तुती रहने सङ्घका सदस्य तथा कार्यक्रम व्यवस्थापक युवराज भण्डारीले जानकारी दिए । यस क्षेत्रका कृषि तथा औद्योगिक उत्पादन र व्यापार प्रदर्शनीका लागि २५ वटा स्टल समेत निर्माण गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय मलङ्गवा र करदाता सेवा कार्यालय समेतको सह–आयोजनामा मेला सञ्चालन गरिएको सङ्घका सदस्य भण्डारीले बताए ।