Thursday, December 12, 2024

बर्थिङ सेन्टरको दुरा अवस्था, १२ घण्टा सम्म सियो कुर्दै सुत्केरी

ताजा / भरखरै प्राप्त

हरिपुर्वा–सर्लाहीको हरिपुर्वा नगरपालिका–१, निवासी १८ वर्षकी बविता पासवानलाई कात्तिक ३० साझ ७ ः ३० बजे एक्कासि सुत्केरी बेथाले च्याप्यो । उहाँलाई श्रीमान अरुण पासवान र सासुले हतार हतार गाउँमा रहेको बर्थिङ सेन्टर पुर्याए । बबिताको पहिलो बच्चा जम्दै थियो । उनले साेही बर्थिङ सेन्टरमा नियमित गर्भ चेकजाँच समेत गराएकी थिइन ।

स्वास्थ्यकर्मीहरुको नियमित निगरानीमा बच्चा र आमा स्वस्थ रहेकोले बच्चा सामान्य ढङ्गले जन्मिन्छ (नर्मल डलिभरी) हुन्छ । भनेपछि बबिताका श्रीमान अरुण पनि ढुक्क थिए । बवितालाई ९ः३० मा परिवारले बर्थिङ सेन्टर पुर्याए । बर्थिङ सेन्टर पुगेको १० मिनेट पछिनै उनकाे बच्चा जन्मियो । सामान्य ढङ्गले बच्चा जन्मिए पनि बच्चा ठुलो भएकोले योनीमा चोट अर्थात मेडिकल भाषामा ‘भजाइन् टियरिङ’ भयो ।

त्यस पछि बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी र विमारीका आफन्तलाई आपत आइलाग्यो । सुविधा सम्पन्न भनेर ल्याएको बर्थिङ सेन्टरमा सामान्य घाउ सिउनको लागि आवश्यक सियो(क्याटगड) समेत थिएन । बच्च जन्मी सक्दा सम्म रातको ९ः३० भइसकेको थियो । मधेशका गाउँघरमा समसाँझै सबै बन्द हुन्छन् । ९ बजे मध्यरात हुन्छ ।

उपचारमा खटिएकी ‘एसविय’ तालिम प्राप्त स्वास्थ्यकर्मी शारदा घिमिरेले कतै मेडिकलबाट किनेर तत्काल ल्याउनु भन्दै आवश्यक सामानको सूचि बबिताको श्रीमानको हातमा राखिदिइन । तर, त्यो मध्यरातमा कुनै उपाय थिएन । केही मेडिकलमा भौतारिँदै अरुण रित्तो हात बर्थिङ सेन्टर अाइपुगे । त्यस पछि सबै जना के गर्ने र कसो गर्ने भन्ने अन्योलमा पुगे ।

बविता रगत बगाउँदै बेडमा छटपटी रहिन। स्वास्थ्यकर्मी बबितालाई ढाडस दिदैँ आफूले सिकेको अनेक उपाय लगाएर बगिरहेको बबिताको रगत रोक्ने प्रयास गरिरहिन । केही उपाए नलागे पछि बिमारीलाई कोल्टे सुताएर प्याडको भरमा १२ घण्टा सम्म रगत रोकेर राखेको स्वास्थ्यकर्मी घिमिरेकाे भनाइ थियाे।

बिहान ९ बजे पछि बर्थिङ सेन्टर नजिकैको मेडिकल खुलेपछि औषधी र सामान ल्याएर उपचार गरियो । कम उमेरमै गर्भवती हुनुभएकी बविता यसै खतरामा थिइन । अर्को तर्फ बर्थिङ सेन्टरमा सामान्य सियो(क्याटगड) नहुदा राती भरी दुखाई सँगै शरीरबाट रगत बगाउनु परेको घटनाले अहिले पनि उनी झस्काइरहन्छ । नगरले लापर्वाही पूर्ण ढङ्गले सुत्केरीको ज्यान खतरामा पार्ने काम गरेको उनकाे प्रतिकृया थियाे।

बविताको बच्चा जन्मने प्रकृया अन्तिममा रहेकोले अन्त रेफर गर्ने अवस्था सम्म नहुँदा निकै तनाव पूर्ण अवस्थामा काम गर्नु परेको स्वास्थ्यकर्मी घिमिरेले सुनाइन। ‘‘हाम्रोमा कुनै सामान छैन् । अन्तै लैजानुस भन्छौँ ।’’ स्वास्थ्यकर्मी घिमिरेले भनिन, ‘‘उहाँहरु अन्यत्र लैजाने खर्च छैन् । जसरी हुन्छ । जे हुन्छ गरिदिनुस भन्दै लम्पसार परेपछि हामी आफैलाई खतरामा राखेर काम गर्न बाध्य हुन्छौँ ।’’

बविता जस्तै हरिपुर्वा नगरपालिका–६, निवासी १९ वर्षकी रेजिना कार्कीलाई पनि कात्तिक १२ गते सुत्केरी ब्यथा लाग्यो । परिवारले तत्काल बर्थिङ सेन्टर पुर्याए । सुरुमा सबै जनालाई सामान्य हिसावले बच्चा जन्मने आश थियो । बच्चा सामान्य हिसावले(नर्मल डेलीभरी) जन्मियो पनि । तर, बच्चा जन्मने क्रममा रेजिनाको पनि भजाइनल टेयर भएर रक्तश्राव भयो ।

बर्थिङ सेन्टरमा सामान्य उपचारको सामान समेत नभएपछि उनको परिवारले पनि हातमा औषधीको सूची लिएर रातभर हार गुहार गरे । तर, कुनै उपाय नलागे पछि बविताले जस्तै रेजिनाले पनि जोखिमपूर्ण ढङ्गले भोलिपल्ट बिहान हुने पर्खाइमा पिडा सहेर बनु पर्यो । बविता र रेजिना सुत्केरी सँगै समयमै उपचार नपाएर प्रताडित हुनुपरेका दुई पत्रमात्र हुन ।

यस्तो घटना दैनिक हुने गरेको बर्थिङ सेन्टरकै अर्की स्वास्थ्यकर्मी रुवी साहले बताइन् । यसरी जोखिम पूर्ण सुत्केरी गराउनु भन्दा घरमै राम्रो हुने रेजिनाका श्रीमान अवधेश कुमार यादवको भनाई छ । सुविधा सम्पन्न भनिएको बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने गर्भवतीका आफन्तले आवश्यक पानी देखी सियो धागो र स्वास्थ्यकर्मीको लागि पञ्जा सम्म आफैले किनेर ल्याउनु पर्ने बाध्यता छ ।

सामान्य एउटा कोठालाई बिचमा प्लाईले बारेर दुई कोठा बनाएर सेवा प्रवाह गर भनेर पालिकाले आफूरुहलाई छाडेको स्वास्थ्यकर्मीहरूको गुनासो छ । कुनै पनि बेला ठुलो दुर्घटना भएर आफूहरु समेत संकटमा पर्ने निश्चित रहेको उनीहरूकाे दुखेसो थियाे । रातको समयमा बिजुली गएको समयमा मोवालको बत्ति बालेर सेवा दिने गरेको स्वास्थ्यकर्मी घिमिरेले बताइन। दुई जनाको भरमा २४ सै घण्टा सेवा दिनु पर्दा निकै तनावका बिच काम गर्नुपरेकाे स्वास्थ्यकर्मीहरूकाे गुनासाे छ ।

‘‘के भन्नु सर । यहाँ अहिले डेलीभरीको लागि कोही आए भनि हातमा लगाउने ग्लोब्स समेत छैन् ।’’ उनले भनिन्, ‘‘लिवर रुपमा एउटा पंखा सम्म छैन् । औषधी बिमारी आफैलाई किनेर आउनु भनेर पठाउछौँ । नभए घण्टौँ सम्म विमारी रगत बगाएर मर्छुकी बाच्छु भनेर बस्नु पर्छ ।’’ आफूहरुले नगरपालिका तथा स्वास्थ्य चौकी इन्चार्जलाई पटक पटक अवस्थाबारे जानकारी गराउदा समेत वास्ता नगरेको उनकाे भनाई छ ।

यता स्वास्थ्य चौकी इन्चार्ज उमेश कुमार यादवले आफूलाई नगरबाट त्यस्तो कुनै बजेट उपलब्द नगराईएको दावी गर्नु भयो । आफू आएपछि केही हदसम्म सुधार गर्दै लगेको भन्दै ठुलो समस्या नरहेको उहाँको दावी थियो । आमा सुरक्षा कार्यक्रम भनेर ७ सय रुपैयाँ त्यो पनि वर्षको एक पटक अन्तिममा पाउदा व्यवस्थापनमा समस्या हुने गरेको उहाँले बताउनु भयो ।

स्वास्थ्य चौकीमा समेत सरकारले निर्णय गरेको निशुल्क वितरण गर्नु पर्ने १०/१५ प्रकारको औषधी सधै अभाव हुने गरेको उनले जानकारी दिए । अहिले चिसो समयमा धेरै रुघा, खोकी र ज्वरोका समस्या भएका विमारी आउने गर्छन् । तर, आवश्यक औषधी नहुँदा विमारी यसै फर्केर जाने गरेका इन्चार्ज यादवको भनाइ थियाे ।

गैर सरकारी संस्थाले केही उपकरण उपलब्द गराएपछि ५ वर्ष पहिलाबाट सुरु भएको बर्थिङ सेन्टरका अधिकांस उपकरण काम नलाग्ने भइसकेकाे छ। नियमित मर्मत नहुँदा बच्चालाई तातो बनाउने(बेबी वार्मर), पानी तताउने भाडो काम नलाग्ने भएको छ । औषधी र आवश्यक सामान राख्ने भाडो खाली छ। एक स्वास्थ्यकर्मीले भनन् । अभावमा जोखिमपूर्ण ढङ्गले सुत्केरी गराइरहनु परेकाे छ।

यस्तै हरिपुर्वा नगरपालिकाका मेयर विनोद कुमार साहले सबै नागरिकले गुणस्तरिय स्वास्थ्य सेवा पाइरहेको दावी गरे । नगरका स्वास्थ्य चौकीहरुमा नियमित रुपमा निशुल्क औषधी वितरण भइरहेको भन्दै तत्काल थप बुझेर समस्या समाधान गरिने बताए। आफू निर्वाचित भएपछि नगरले स्वास्थ्य र शिक्षामा फड्को मारेको उनकाे कथन छ।

‘‘हामी अनुगमन पनि गरिरहेका छौ ।’’ मेयर साहले भने, ‘‘स्वास्थ्य चौकीका इन्चार्जहरुलाई समस्या समाधान गर्न र सेवा चुस्तदुरुस्त राख्न निर्देशन दिएकाे छु।’’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles