राजु तामाङ, बागमती–जारी प्रथम जिरायत कप जिल्ला स्तरीय फुटबल प्रतियोगितामा लालीगुँरास युवा क्लब बरहथवा र रतनपुर युनाइटेड बारा विजयी भएको छ ।
प्रतियोगिता अन्तरगत शुक्रबारको पहिलो खेलमा साथीभाइ युवा क्लब हरिपुर–८, लाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै लालीगुँरास युवा क्लब बरहथवा विजयी भएको हो । निर्धारित समयमा दुवै टिम गोल रहित बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा गरेको थियो । खेलको म्यान आफ द म्याच लालीगुराँसका गोल रक्षक माधव मगर घोषित भए ।
यस्तै प्रतियोगिता अन्तरगतको दोस्रो खेलमा टुटेश्वर युवा क्लब महोत्तरीलाई रतनपुर युनाइटेड बाराले २–१ गोल अन्तरले हराएको छ । जित सँगै रतनपुर युनाइटेड बारा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान आफ दि म्याचको उपाधि रतनपुरका अजय कुँवरले प्राप्त गरेका छन् ।
बागमती नगरपालिका–४, स्थित ॐ युवा क्लबको खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत भोलि शनिबारको पहिलो खेल बागमती फुटबल एकेडेमी बागमती र आयोजक(बी) बिच हुने छ । भने, दोस्रो खेलमा आर एफसी हरिवन र समृद्ध नेपाल क्लब जुअवा कोल्हवी बारा भिड्ने भएका छन् ।
मंसिर २० गते फाइनल हुने खेलको विजेता टोलीले नगद ५० हजार ५१ रुपैयाँ सहित प्रथम जिरायत कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद २५ हजार ५१ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए ।
‘‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’’ भन्ने नारा सहित स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएका हो ।