राजु तामाङ, बागमती–जारी प्रथम जिरायत कप जिल्ला स्तरीय फुटबल प्रतियोगितामा महाकाली युवा क्लब लालबन्दी र आर एफसी हरिवन विजयी भएको छ ।
प्रतियोगिता अन्तरगत बिहीबारको पहिलो खेलमा महाकाली युवा क्लब लालबन्दीले सुनौलो बिहानी युवा क्लब राजघाटलाई ट्राइबेकरका ५–४ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुवै तर्फबाट १–१ को बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको म्यान अफ दि म्याच महाकालीका अमन भोलन घोषित भए ।
यस्तै दोस्रो खेलमा आर एफसी हरिवनले श्री महावीर जनता माध्यामिक विद्यालय हरिपुरलाई ६–० गोल अन्तरले पराजित गरेको छ । आर एफसी हरिवनले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गरी ६ गोल गरेको थियो । आर एफसी सामु महावीर जनता हरिपुर निरिह सावित भयो । खेलको म्यान अफ दि म्याचको उपाधि आरएफसीका क्षितिज भण्डारीले पाए ।
बागमती नगरपालिका–४, स्थित ॐ युवा क्लबको खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत भोलि शुक्रबारको पहिलो खेल साथीभाइ युवा क्लब हरिपुर–८ र लालीगुँरास युवा क्लब बरहथवा बिच हुने छ । भने, दोस्रो खेलमा टुटेश्वर युवा क्लब महोत्तरी र रतनपुर युनाइटेड बारा भिड्ने भएका छन् ।
मंसिर २० गते फाइनल हुने खेलको विजेता टोलीले नगद ५० हजार ५१ रुपैयाँ सहित प्रथम जिरायत कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद २५ हजार ५१ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए ।
‘‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’’ भन्ने नारा सहित स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएका हो ।