राजु तामाङ, बागमती–जारी प्रथम जिरायत कप जिल्ला स्तरीय फुटबल प्रतियोगितामा बागमती फुटबल एकेडेमी बागमती र आरफसी हरिवन विजयी भएको छ ।
प्रतियोगिता अन्तरगत शनिवारको पहिलो खेलमा बागमती फुटबल एकेडेमी बागमतीले आयोजक(बी)लाई ४–० गोल अन्तरले पराजित गरेको हो । खेलको सुरु देखिनै लयमा देखिएको बागमतीले आयोजक (बी) लाई निरन्तर दबाबमा राखेको थियो । खेलको ९ औँ मिनेटमा शिव चौलागाइँले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको २१ मिनेटमा टिमको लागि कपिल लामिछाने दोस्रो गोल गरे । खेलको ५४ औँ मिनेटमा समिर थोकरले गरेको गोलबाट ३–० को अवस्थामा पुगेको टिम खेलको ५८ औँ मिनेटमा कपिल लामिछानेको व्यक्तिगत दोस्रो गोलबाट ४–० ले विजयी भयो । आजको खेलको म्यान अफ द म्याचको उपाधि बागमती एकेडेमीका कपिल लामिछानेले पाए ।
यस्तै प्रतियोगिता अन्तरगतको दोस्रो खेलमा ट्राइब्रेकरमा आरएफसी हरिवनले समृद्ध नेपाललाई ५–३ गोल अन्तरले पराजित गरेको छ । खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । यस खेलको म्यान अफ द म्याच आरएफसी हरिवनका गोल रक्षक समीर लामा घोषित भए ।
बागमती नगरपालिका–४, स्थित ॐ युवा क्लबको खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत भोलि आइतबारको पहिलो खेल महाकाली युवा क्लब लालबन्दी र लालीगुँरास युवा क्लब बरहथवा बिच हुने छ । भने, दोस्रो खेलमा आयोजक(ए) र आरफसी हरिवन भिड्ने भएका छन् ।
मंसिर २० गते फाइनल हुने खेलको विजेता टोलीले नगद ५० हजार ५१ रुपैयाँ सहित प्रथम जिरायत कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद २५ हजार ५१ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए ।
‘‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’’ भन्ने नारा सहित स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएका हो ।