Thursday, December 12, 2024

प्रथम जिरायत कपमा टुटेश्वर युवा क्लबको विजयी सुरुवात

ताजा / भरखरै प्राप्त

राजु तामाङ, बागमती– सर्लाहीको बागमतीमा सुरु भएको प्रथम जिरायत कप फुटबलमा टुटेश्वर युवा क्लब महाेत्तरीले विजयी सुरुवात गरेको छ । 

सोमबारबाट बागमती नगरपालिका–४, जिरायत स्थित ॐ युवा क्लबको खेल मैदानमा प्रथम जिरायत कप सुरु भएको हो । प्रतियोगिताको उद्‌घाटन खेलमा नमोबुद्ध युवा क्लब हजार विगाहलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै टुटेश्वर युवा क्लबले विजयी सुरुवात गरेको हो । 

खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा टुटेश्वरका गोल रक्षकको उत्कृष्ट बजाउ पछि नमोबुद्ध पराजित भएको हो । टुटेश्वरका गोल रक्षक अशाेक खड्का खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

आयोजकको दुई टिम सहित १८ वटा टिम सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर २० गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्लाही, महोत्तरी र बाराका क्लबहरूले भाग लिएका क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए ।

दोस्रो दिन भोलिबाट दिउसो १ बजे बागमती फुटबल एकेडेमी बागमती र जनशक्ति युवा क्लब बागमती–९ बिच प्रतिस्पर्धा हुने छ । भने, दिउसो ३ बजे रतनपुर युनाइटेड युथ क्लब बारा र जुनतारा युवा क्लब डाबरी बिच प्रतिस्पर्धा हुने खेल संयोजक मनोज रसाइलीले जानकारी दिए । 

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार ५१ रुपैयाँ सहित प्रथम जिरायत कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद २५ हजार ५१ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको हो ।

खेलमा विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको हो । प्रतियोगिताको कुल लागत तीन लाख अनुमान गरिएको क्लबका अध्यक्ष विश्वकर्माले जानकारी दिए । स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएका हो ।

यस्तै प्रतियोगिताको उद्‌घाटन समारोह बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण लामाको प्रमुख आतिथ्यमामा सम्पन्न भएको हो । क्लबका अध्यक्ष विश्‍वकर्माकाे अध्यक्षतामा भएको उद्‌घाटन समारोहमा राष्ट्रिय आविष्कारक केन्द्रका वैज्ञानिक महावीर पुन, बागमती नगरपालिकाका शिक्षा शाखा संयोजक राजकुमार विश्वकर्मा, वडा सदस्य रामसुन्दर महतो, जितबहादुर गोले, मंगल सिंह मोक्तान,  रिपुमर्दन आले, प्रदिप गोले लगायतको आतिथ्यता रहेको आयोजकले जनाएको हो । 

प्रतियोगिताको उद्घाटन समारोहमा स्थानीय विद्यालयका छात्रछात्राहरूले सांस्कृतिक प्रस्तुती समेत राखेका थिए । 
 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles