राजु तामाङ, बागमती– जारी प्रथम जिरायत कप जिल्ला स्तरीय फुटबल प्रतियोगिता अन्तरगत आजको दुई खेल हुने भएको छ ।
प्रतियोगिता अन्तरगत दोस्रो दिन(आज)को खेलमा दिउसो १ बजे बागमती फुटबल एकेडेमी बागमती र जनशक्ति युवा क्लब बागमती–९ तथा दिउसो ३ बजेको खेलमा रतनपुर युनाइटेड युथ क्लब बारा र जुनतारा युवा क्लब डाबरी बिच प्रतिस्पर्धा हुने भएको हो । बागमती नगरपालिका–४, जिरायत स्थित ॐ युवा क्लबको खेल मैदानमा प्रथम जिरायत कप जिल्ला स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो ।
सोमबार सम्पन्न उद्घाटन खेलमा टुटेश्वर युवा क्लब महोत्तरीले विजयी सुरुवात गरेको थियो । निर्धारित समय अवधिमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय ट्राइबेकरबाट निकालिएको थियो । ट्राइबेकरमा टुटेश्वर ४–३ गोल अन्तरले विजयी भएको हो । आयोजकको दुई सहित १८ वटा टिम सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर २० गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सर्लाही, महोत्तरी र बाराका क्लबहरूले भाग लिएका क्लबका अध्यक्ष जित बहादुर विश्वकर्माले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार ५१ रुपैयाँ सहित प्रथम जिरायत कप, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद २५ हजार ५१ रुपैयाँ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको हो ।
प्रतियोगिताको कुल लागत तीन लाख अनुमान गरिएको क्लबका अध्यक्ष विश्वकर्माले जानकारी दिए । स्थानीय स्तरमा खेल क्षेत्रको विकास तथा खेलाडीको प्रोत्साहनको उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएका हो ।