बागमती–सर्लाहीको बागमती र बरहथवामा भएको दुई छुट्टा छुटै दुर्घटनामा ५ जना घाइते भएका छन् ।
मङ्गलवार जिल्लाको बागमती नगरपालिका–१०, स्थित नयाँ बस्तीबाट भरत ताल जाने बाटोमा टिफर र मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परेर बिआर ३० इ ४५३८ नम्बरको भारतीय मोटरसाइकलमा सवार बागमती–१०, नयाँ बस्तीका रामविश्वास चौधरीका छोरा २२ वर्षका रूपेश चौधरी र मोटरसाइकलमा सवार सोही स्थानका मुकेश चौधरीको श्रीमती २७ वर्षकी अनिता चौधरी घाइते भएका हुन् ।
घाइते दुवै जनाको बागमती स्थित बागमती मोडल अस्पतालमा उपचार भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार भरत ताल तर्फ आउदै गरेको प्रदेश ३–०१–००५ क ९८९६ नम्बरको टिफर र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीले दुर्घटनामा सङ्लग्न टिफर, टिफर चालक र मोटरसाइकल समेत नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
यस्तै बरहथवा नगरपालिका–१२, पुरैनियामा भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन् ।
मङ्गलवार बिहान बरहथवाबाट हिरापुर तर्फ जाँदैगरेको बिआर ०६ एक्स ४१८१ नम्बरको भारतीय मोटरसाइकललाई सोही दिसा तर्फ जादै गरेको ज १२ प ७२७८ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको हो । दुर्घटनामा ४१८१ नम्बरको मोटरसाइकलका चालक गोडैता नगरपालिका–८, निवासी ६० वर्षका नन्दकिशोर मिश्र र उन्को १८ वर्षका छोरा सुधीर कुमार मिश्र घाइते भएका छन् ।
यस्तै ७२७८ नम्बरको मोटरसाइकल चालक बरहथवा नगरपालिका–१२, बस्ने ओमकुमार यादवका १७ वर्षका छोरा रोमित यादव घाइते भएका हुन् । उनीहरु तीनै जनाको हात खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । दुवै मोटरसाइकल नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो ।