Thursday, December 12, 2024

ट्रक र कन्टेनरबाट साढे ८६ लाख बढीको अवैध सामान बरामद

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाही प्रहरीले कर्मैया स्थित बागमती चेक पोष्टबाट ठुलो परिमाणमा अवैध सामान सहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ ।

बुधबार पूर्व पश्चिम राजमार्ग स्थित बागमती नगरपालिका–१२, चेक पोष्टबाट चेक जाँचका क्रममा प्रहरीले ठुलो परिमाणमा अबैध सामान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–००१ ख ४१९० नम्बरको ट्रकबाट बिल बिजक भन्दा धेरै मात्रामा लोड भएको २० लाख ७५ हजार ५ सय २७ रुपैयाँ बराबरको चाइनिज लसुन बरामद गरेको हो ।

काँकडभिट्टाबाट काठमाडौँको लागि छुटेको उक्त ट्रकलाई शंका लागेर चेक जाँच गर्ने क्रममा उक्त सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यस्तै वीरगञ्जबाट झापाको बिर्तामोडका लागि गुडेको ना ७ ख ९४६५ नम्बरको कन्टेनरबाट पनि अवैध रुपमा ल्याएको ठुलो परिमाणमा मोटरपार्टस् बरामद भएको प्रहरीले जनाएको छ । कन्टेनर चेक जाँचका क्रममा प्रज्ञापन पत्र नभएका मोटरपार्टस्, टायर लगायतका सामान तथा बिल बिजकमा उल्लेख भएको भन्दा धेरै भाडा वर्तन र रेडिमेड कपडा बरामद भएको हो ।

परिणाम नखुलेको समेत गरी ६५ लाख ८६ हजार ९ सय ६१ रुपैयाँ बराबरको सामाग्रीहरू बरामद भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । दुवै ट्रकको गरी ८६ लाख ६२ हजार ४ सय ८८ रुपैयाँ बराबरको अवैध सामान सहित दुवै ट्रकलाई नियन्त्रणमा लिएर कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको प्रहरीले जनाएको छ ।

उक्त बरामद सामाग्रीको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles