बरहथवा– पशु वस्तुलाई लागेको भुसुना भगाउन बालेको घुर सल्किएर सर्लाहीको बरहथवामा घर खरानी भएको छ ।
बुधबार बिहान बरहथवा नगरपालिका–१, सहनी टोलमा घुरबाट सल्किएको आगोले स्थानीय राम प्रवेश सहनी, भाइ मनोज सहनी र २० वर्षका ललन सहनीको बाँस, काठले बनेको टालीले छाएको घर जलेर खरानी भएको हो । आगलागीबाट तीनै जना परिवार घरवास विहीन बनेका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको हो ।
आगलागीबाट मानवीय क्षति नभएपनि २ वटा बाख्रा जलेर मरेको छ । भने, दुई वटा भैसीको पाडोको पछाडिको भाग जलेको छ । आगो पूर्णरुपमा घर जल्दा घर भित्र रहेको अन्नपात, लत्ता कपडा, सुनचाँदीको गरगहना, नगद, महत्वपूर्ण कागजात, भाँडावर्तन गरी १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।
आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र हरिवन नगरपालिकाबाट पुगेको बारुण यन्त्रको सहायतामा नियन्त्रणमा आएको थियो ।
यस्तै मङ्गलवार लालबन्दी नगरपालिका–१, महतो टोलमा भएको आगलागीबाट सोही स्थानका राम देवल महतोको उखुबारीमा क्षति पुगेको थियो । आगलागीबाट महतोको १० कठ्ठा खेतमा लगायको उखु जलेको प्रहरीले जनाएको हो । यसबाट डेढ लाख बराबरको क्षति भएको पीडित परिवारको दावी छ ।
आगो स्थानीय, प्रहरी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको हो । आगो समयमै नियन्त्रणमा आएकोले थप ठुलो क्षति हुन नपाएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक सुर्य नारयाण चौधरीले जानकारी दिए ।