ईश्वरपुर-यु–१९ राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई सर्लाहीको ईश्वरपुरमा भव्य स्वागत सहित सम्मान गरिएको छ ।
बिहीवार जिल्लाको ईश्वरपुर नगरपालिका स्थित नारायण माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमका बिच क्रिकेट कप्तान महतोलाई नगरले स्वागत र सम्मान गरेको हो । दिउसो इश्वरपुर आइपुगेकी कप्तान महतोलाई क्रिकेट प्रेमीहरूले समेत विशेष सम्मान गरेका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
ईश्वरपुर नगरप्रमुख आचार्यले नगद ३१ हजार र प्रशंसापत्र सहित उनलाई दोसल्ला ओढाएर सम्मान गरे । नारायण माध्यमिक विद्यालय केश्वरगंजको प्राङ्गणमा आयोजित सम्मान कार्यक्रममा स्थानीय क्रिकेट प्रेमी, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि लगायतको ओइरो लागेको थियो ।
महतोको कप्तानीमा आइसीसी यू–१९ महिला क्रिकेटमा नेपाल पहिलो पटक विश्वकपमा पुगेको छ । कार्यक्रमका अधिकांश वक्ताहरूले महतोको योगदानको खुलेर प्रशंसा गरे । महिला क्रिकेट इतिहासमा महतोको नाम स्वर्ण अक्षरले लेखिएको नारायण माध्यमिक विद्यालयका शिक्षक नाथुराम चौधरीको भनाई थियो ।
कार्यक्रममा बोल्नुहुँदै कप्तान महतोले कडा मेहनत र परिश्रमले जुन सुकै कार्यमा सफल प्राप्त गर्न सकिने भन्दै पठनपाठन सँगै मेहनतका साथ आफ्नो चाहना अनुसार खेल क्षेत्रमा लाग्न विद्यार्थीहरूलाई आग्रह समेत गरिन ।
खेलकुद हरेक मानवको लागि अपरिहार्य कुरा भएको मेयर आचार्यले बताए । आफु निर्वाचित भएपछि नगरलाई खेल क्षेत्रको उर्भर भुमी बनाउदै लगेको उहाँले बताउनु भयो । नेपालको नाम अन्तराष्ट्रिय जगतमा चिनाउने मधेशकी चेली महतो सँगै अन्य खेल क्षेत्रमा अंकुराउदै गरेका खेलाडिहरुलाई प्रोत्साहन सोरुप सम्मान कार्यक्रम गरिएको गरिएको मेयर आचार्यको भनाई थियो ।