क्षितिज विश्वकर्मा, लालबन्दी– नेपाल फारमर्स एडभाइजरी काउन्सिलले सर्लाहीको लालबन्दीमा उखु खेती प्रवर्द्धनका लागी सीपमुलक आय अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
मङ्गलबार द नेपाल डिस्ट्रिलरिज बालाजु काठमाडौँको आर्थिक सहयोगमा लालबन्दी नगरपालिका–६, स्थित होटल युनाइटेडमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल कृषि अर्थशास्त्र समाजका सभापति तथा नेपाल सरकारका पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाका काजीराम श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सर्लाही सहित धनुषा, महोत्तरी, रौतहट, बारा र पर्साका ४० जना अगुवा उखु किसानहरू सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरूलाई नेपालमा उखु खेतीको महत्व, सम्भावना, उखु बालीका प्रमुख रोग र कीराहरू तथा तिनको व्यवस्थापन, खुट्टी बालीको महत्व तथा व्यवस्थापन र मलखाद, उखुका उत्कृष्ट जातहरू तथा उन्नत उत्पादन प्रविधि लगायतका विषयमा नार्कका विज्ञहरूले प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा धेरै उखु उत्पादन गर्ने किसानहरूलाई उत्कृष्ट किसानको रुपमा समेत प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । नेपालमा बिस्तारै उखु खेती घट्दै गइरहेको अवस्थामा किसानहरूलाई नयाँ प्रजातिका बिउ बिजन, खेती गर्ने नयाँ प्रविधि तथा तरिकाको बारेमा जानकारी दिँदै उखु खेती प्रति आकर्षित गर्नका लागी कार्यक्रम आयोजना गरिएको नेपाल कृषि अर्थशास्त्र समाजका सभापति तथा नेपाल सरकारका पूर्व सचिव डा. कार्कीले बताए ।
त्यसैगरी मदिरा उत्पादनमा प्रयोग गरिने रम जन्य पदार्थ उत्पादनका लागी उखु अनिवार्य रहेको र त्यसको पूर्ति हाल भारतबाट भइरहेकोले नेपालको पैसा बाहिर जाने गरेको भन्दै त्यो रोक्न आवश्यक रहेको कार्यक्रमका वक्ताहरुको जोड थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लालबन्दी नगर प्रमुख अधिकारीले कार्यक्रमको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । साथै उहाँले आफू किसानलाई प्रोत्साहन गर्ने कार्यमा सँधै लागी रहने प्रतिवद्धता समेत व्यक्त गरे ।