ईश्वरपुर–पूर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित अमुवा खोला पुलमा भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् ।
शुक्रवार ईश्वरपुर नगरपालिका–१२, स्थित अमुवा खोला पुल नजिकै दुई वटा यात्रु बस र एउटा ट्रक दुर्घटना भएको हो । दुर्घटनामा ना ७ ख ८६३१ नम्बरको बसका धनी महोत्तरीको महोत्तरी गाउँपालिका–३, बस्ने ४० वर्षका सिधु कुमार मिश्र र ना ६ ख १८७७ नम्बरको चाँदतारा बसमा सवार महोत्तरीको जलेश्वर नगरपालिका–४, सुगाभवानीपट्टि टोल बस्ने ४८ वर्षकी रेणु देवी कर्ण र उनको छोरा २० वर्षका विधान्शु कर्ण घाइते भएका हुन् ।
घाइते दुवै आमा छोराको वीरगञ्ज स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । भने, अर्का घाइते मिश्रको लालबन्दी स्थित गढीमाई अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि जनकपुर रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य यात्रु सकुशल रहेका र उनीहरूलाई गन्तव्य तर्फ पठाइएको छ ।
बिहान जनकपुरबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ८६३१ नम्बरको यात्रुबसलाई सोही दिसाबाट आँउदै गरेको ना ६ ख १८ ७७ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परेर अनियन्त्रित बनेको उक्त बसले सुनसरीबाट कपिलवस्तु जाँदै सडक किनारमा रोकी राखेको लु १ ख ८६७० नम्बरको ट्रकलाई समेत पछाडिको भागमा ठक्कर दिएको थियो ।
दुर्घटनामा परेको तीन वटै सवारी प्रहरी नियन्त्रणमा रहेको छ । बस र ट्रकलाई ठक्कर दिने १८७७ नम्बरको बसका चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । अन्य सवारीका चालक सम्पर्कमा रहेको इलाका प्रहरी कार्यालय केश्वरगञ्जले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।