बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित जनवाल कल्याण माध्यामिक विद्यालयले रुद्रदीप स्मृति पुरस्कार वितरण गरेको छ ।
बुधबार बागमती नगरपालिका–२, धरहरा स्थित विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रम मार्फत पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको हो । शैक्षिकसत्र २०८० मा विद्यालय मै उत्कृष्ट नतिजा प्राप्त गर्ने एक छात्र र एक छात्रा तथा एसइइमा विद्यालयमै उत्कृष्ट नतिजा ल्याउने एक छात्रालाई पुरस्कारले सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिनुभयो ।
विद्यालयका अनुसार विद्यालयमा उत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रा कक्षा ७ पढ्ने निर्विका तिमल्सिना र छात्र कक्षामा अध्ययनरत रोशन महतोलाई जनही १० हजार २ सय रुपैयाँ नगद र प्रमाणपत्र सहित प्रदान गरिएको हो । भने, एसइइमा उत्कृष्ट हुने छात्रा अञ्जली कुमारी महतोलाई ११ हजार बराबरको साइकल र प्रमाणपत्रले सम्मान गरिएको विद्यालयले जानकारी दिएको हो ।
पुरस्कार विद्यालय व्यवस्थापन समिति अध्यक्ष टङ्क बहादुर बोहरा र रुद्रदीप स्मृति अक्षयकोषका संस्थापक अध्यक्ष गीता बहादुर भट्टराईले सम्युक्त रुपमा वितरण गरेका हुन । कार्यक्रममा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको विद्यालयको शिक्षक निर्मल तिमल्सिनाले जानकारी दिए ।
कार्यक्रममा बागमती नगरपालिका–२, का वडाध्यक्ष बाबु बल, विद्यालय व्यवस्थापन समिति सदस्य रामकुमार राउत, वडा सदस्य, शिक्षक शिक्षिका, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।