बलरा–भारतीय सीमावर्ती बजार हिँडेका युवकको तीन दिन पछि शव फेला परेको छ ।
मङ्गलबार सर्लाहीको बलरा नगरपालिका–१, बस्ने सञ्जय गिरीका छोरा २७ वर्षका पवन गिरीको तीन दिन पछि आज शव फेला परेको हो । गत आइतबार घरायस सामान किन्नका लागि पवन भारतको सीतामढी जिल्ला स्थित बसभिट्टा बजार गएका थिए । फर्कने क्रममा दशगजामा आएको भेलमा बगेर उनी बेपत्ता भएका प्रत्यक्षदर्शीको भनाई थियो ।
बाढीमा बेपत्ता भएका पवनलाई परिवार र प्रहरीले हिजो दिनभरी र आज बिहानै देखी खोजी गरेका थिए । सोही क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । उनी बगेको ५० मिटर तल उनको शव फेला परेको प्रहरीले जनाएको हो । मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
यो सँगै सर्लाहीमा बाढीमा डुबेर मर्नेको संख्या तीन पुगेको छ । बागमती नगरपालिकाका १४ वर्षका मुकेश महतो, बलरा नगरपालिका–३, का १२ वर्षका अङ्कित ठाकुर र बलरा नगरपालिका–१, का पवनको बाढीको पानीमा डुबेर ज्यान गएको हो ।