मलङ्गवा–सर्लाही प्रहरीले भदौ महिनामा मात्र एक करोड बढीको अवैध सामाग्रीहरू बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत भदौ महिना भरीमा प्रहरीले भन्सार छलीका एक करोड २४ लाख १३ हजार ३ सय ८८ रुपैयाँ बराबरको सामान बरामद गरेको हो । नेपाल भारत सीमावर्ती क्षेत्रबाट उक्त सामान बरामद भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
लत्ताकपडा, खाद्यान्न, पिय पदार्थ, काजु, मलखाद लगायतका सामानहरू बरामद भएको प्रहरीले जनाएको हो । उक्त समान ढुवानीमा प्रयोग भएका मोटरसाइकल समेत प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यलय मलङ्गवामा बुझाएको छ । खुला सिमानाका कारण खेतको बाटो तथा क्यारिएरको प्रयोग गरेर भन्सार छलीका सामानहरू तस्करी हुने गरेको छ ।
सर्लाही प्रहरीले भारतबाट भन्सार छलेर नेपालमा ल्याई भण्डारण गरेका सामानहरू समेत बरामद गरेको जनाएको छ ।

