हरिपुर- कम उमेरमा हुने विवाह तथा जबरजस्ती हुने विवाह विरुद्ध जिल्लाको ६० स्थानमा सडक नाटक प्रदर्शन गरिएको छ ।
कुसंस्कारका रुपमा समाजमा गहिरो जरागाडेर बसेको बालविवाह तथा जबरजस्ती हुने विवाह रोक्नका लागि सडक नाटक अभियाननै सञ्चालन गरिएको हो । अभियान अन्तरगत जिल्लाको हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रका ६० स्थानमा जनप्रतिनिधि, सामाजिक अगुवा, धर्मगुरुहरू तथा स्थानीयको बाक्लो उपस्थितिमा सडक नाटक प्रदर्शन गरिएको छ ।
बालविवाह र जबरजस्ती विवाहका कारण बालिकाहरूमा पर्ने तत्कालिन तथा दिर्घकालीन असर नाटकको सन्देश रहेको थियो । बालविवाहका कारण बालिकाहरू सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य एवं पारिवारीक समस्यामा पर्ने गरेका छन् । कलाकारहरूले स्थानीय भाषामा प्रदर्शन गरेको नाटक निकै प्रभावकारी रहेको हरिपुर नगरपालिकाका मेयर गोपाल पञ्जियारले जानकारी दिनुभयो ।
‘‘यसरी आयोजना गरिएको सडक नाटकले बालविवाह नियन्त्रणमा ठुलो मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।’’ उहाँले भन्नुभयो, ‘‘सडक नाटक सबैले बुझने भएकोले झनै प्रभावकारी पनि छ । मैले नाटक हेरेपछि धेरै स्थानीय अग्रजहरुले बालविवाहका कानुनी, सामाजिक बालिकाहरुको स्वास्थ्य लगाएतको विषयमा चिन्ता गर्नु भएको पाएको छु ।’’ बालविवाहको पक्षमा रहेका स्थानीयले समेत सचेतना पछि बालविवाह नियन्त्रणमा साथ दिनुभएको मेयर पंजियारले सुनाउनु भयो ।
सडक नाटकमा स्थानीय बाल क्लब, महिला समुह, सामाजिक सँग संस्था लगायतको सहभागिता समेत रहेको छ । नाटकको माध्यमबाट कम उमेरमा विवाह गर्दा बालिकाहरुले भोग्नु पर्ने शारीरिक समस्या, पारिवारिक तनाव कलह, पढाइबाट बञ्चित हुँदा भोग्नु परेको कठिनाइ लगायतको विषय बुझ्ने मौका मिलेको हरिपुर नगरपालिका–२, निवासी रुकमणी चौधरीले प्रतिकृया दिनुभयो । नाटक अशिक्षित समुहका लागि समेत निकै प्रभावकारी माध्यम रहेको उहाँको भनाई थियो ।
२० वर्ष भन्दा कम उमेरमा हुने विवाह बालविवाह हो । मधेश प्रदेशमा मात्र वर्षेनी ४२ प्रतिशत विवाह उमेरै नपुगी बालखैमा हुने गरेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ । यसको नियन्त्रण अपरिहार्य रहेको ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्यले बताउनु भयो । समाजका सबै तहको समान सहभागिताबाट मात्र बालविवाह नियन्त्रण सम्भव रहेको मेयर आचार्यको भनाई थियो ।
ग्रामीण नारी उत्थान सङ्घ र सेभ द चिल्ड्रेनको साझेदारीमा स्थानीय पालिकाकाहरुको समन्वयमा सिइएफएम परियोजना मार्फत सडक नाटक प्रदर्शन गरिएको हो । बालविवाह र जबरजस्ती विवाह रोकथाम, न्यूनीकरण र अन्त्यका लागि दुवै पालिकाको प्रतेक गाउँ गाउँमा नाटक प्रदर्शन गरिएको परियोजना संयोजक सिर्जन बस्नेतले जानकारी दिनुभयो ।
यस अभियानमा नगरस्तरीय मुसहर महिला सशक्तीकरण मञ्च, ईश्वरपुर नगरपालिकाका ३ वटा महिला समुह, डुपुस नेपाल समेतले हातेमालो गरेको छ । परियोजनाले हरिपुर नगरपालिका र ईश्वरपुर नगरपालिकालाई आधार कार्यक्षेत्र बनाएर बालविवाह विरुद्ध सचेतना अभियानहरू सञ्चालन गरिरहेको हो ।
कम उमेरमा हुने विवाह वा बालविवाहका कारण कालान्तरमा किशोरीहरूमा पाठेघरको समस्या, पारिवारिक बोझ र मानसिक तनावहरूको सिकार हुनेगरेको छन् । भने, बालविवाहलाई कानुनले मान्यता नदिँदा त्यस्ता दम्पतीबाट जन्मिएका बालबालिकाको विचल्ली हुने गरेको छ ।