हरिपुर्वा-जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपुर्वामा गएराती एक व्यक्तीले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
बिहीबार राती १ बजेको समयमा हरिपुर्वा नगरपालिका–५, हरिपुर्वा निवासी २७ वर्षका धिरेन्द्र यादवले आफ्नै श्रीमती अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको गोली हानी हत्या गरेका हुन् । उनीहरु बीच घरायसी विवाद रहँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राती विवादका क्रममा श्रीमानले प्रहार गरेको गोली कन्चटमा लागेर चित्रलेखाको घटना स्थलमै मृत्यु भएको हो ।
पारिवारीक विवादका कारण वैदेशिक रोजगारबाट फर्किएका धिरेन्द्र नेपाल आएपनि घर आएका थिएनन् । उनी भारतमा बस्दै आएका र गएराती घर आएर श्रीमती सँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
धिरेन्द्रले झगडा छुट्याउन गएका आफ्नै बुबा ५४ वर्षका राम दिनेश यादवलाई समेत गोली हानी घाईते बनाएका छन् । उनको दाया हातको कुइनामा गोलीले छेडेको प्रहरीले जनाएको हो । उनको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि प्रादेशिक अस्पताल जनकपुरमा थप उपचार भइरहेको हो । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको हो ।
घटनाको खवर पाउने बित्तिकै पुगेको प्रहरी टोलीले चित्रलेखाको शव सुतेकै ओच्छ्यानमा फेला पारेको थियो । स्थानीयका अनुसार धिरेन्द्र एक अर्का साथी सँग मोटरसाइकलमा राती घर आएका थिए । घटना पछि उनीहरु मोटरसाइकलमा भारत तर्फनै भागेको प्रहरीको अनुमान छ । घटनामा संलग्नको खोजी तीब्र पारिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।