बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित एक विद्यालयका छात्रछात्राहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
आइतबार बागमती नगरपालिका–११, पशुपति टोलमा रहेको पशुपति सामुदायिक विद्यालयका २ सय ९० जना छात्रछात्राहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यालयको संस्थापन समुहको रुपमा रहेको पशुपति सामुदायिक वन समुहको वार्षिक साधारण सभाको अवसरमा विद्यालयका छात्रछात्राहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको वन समुहका अध्यक्ष बद्रि कुमार खड्काले जानकारी दिनुभयो ।
यस वन समुहले भोलि पशुपति मन्दिर प्राङ्गणमा आर्थिक वर्ष २०८१–०८२ को वार्षिक साधारण सभा समेत आयोजना गरेको जनाएको छ । वन समुहका अध्यक्ष खड्काको अध्यक्षतामा शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल थापा, अभिभावक सङ्घका अध्यक्ष कविराज खड्का, पूर्ण बहादुर खड्का, शिक्षा प्रेमी लम्बोदर काफ्ले, महिला समुहको भगवती रानाभाट लगायतको आतिथ्यता रहेको विद्यालयका प्रधानाध्यापक तारानाथ खनालले जानकारी दिनुभयो ।
वन समुहले समाजिक उत्तरदायित्व वहन गर्दै छात्रछात्राहरूलाई शैक्षिक सामाग्री प्रदान गरेको विद्यालय व्यवस्थापन समिति सदस्य प्रकाश केसीले जानकारी दिनुभयो । समाजका सामाजिक सङ्घ संस्था, सचेत अभिभावक लगायतको सकृयताका कारण विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको प्रधानाध्यापक खनालले बताउनु भयो । शैक्षिक सामाग्री पाएपछि छात्रछात्राहरू समेत खुसी भएका छन् ।