Sunday, March 16, 2025

सर्लाहीको बयलवासबाट सेवा सुरु गर्ने राष्ट्रिय खाद्य बैङ्कको तयारी

ताजा / भरखरै प्राप्त

ईश्वरपुर-राष्ट्रिय खाद्य बैङ्कले सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बयलवासबाट मधेश प्रदेशमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

किसानको उत्पादनको प्रवर्द्धन, व्यवस्थापन, बजारीकरणको काम गर्दै आएको यस बैङ्कले मधेश प्रदेशमा कार्यक्रम सञ्चालन गर्न लागेको हो । आज ईश्वरपुर नगरपालिका कार्यालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सेवा सञ्चालन तयारी पुरा भएको बैकले जनायो । विगत तीन वर्ष देखी विभिन्न प्रदेशमा काम गरिरहेको यस बैङ्कले बयलवासबाट मधेश प्रदेशमा काम सुरु गर्नथालेको बैङ्कका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीले जानकारी दिनुभयो ।

‘‘हामीले सर्लाहीको ईश्वरपुर नगरपालिका सँगको सहकार्यमा बयलवासबाट मधेश प्रदेशमा कार्यक्रम सुरु गरेका छौँ ।’’ उहाँले भन्नु भयो, ‘‘यसले किसानको उत्पादन बढाउन, लागत घटाउन, सहजै बजारीकरण गर्न र उत्पादनको उपयुक्त मूल्य प्राप्त गर्न किसानहरूलाई सजिलो हुने छ ।’’ बैँकले किसानहरूलाई २ लाख देखी ५ लाख सम्म सरल व्याजमा ऋण दिने देखी खेतीपातीमा विज्ञ टोलीबाट प्रशिक्षण र प्रविधि प्रदान गर्ने उहाँको भनाई छ ।

यस कार्यक्रमबाट स्थानीय रैथाने उत्पादनलाई संरक्षण र प्रबर्द्धन समेत गरिने बैङ्कका प्रबन्ध निर्देशक जीपी ढुङ्गेलले बताउनु भयो । विषेश गरेर दूध, माछा, धान, मकै उत्पादन हुने यस क्षेत्रका किसानहरूलाई पेसामा अझै व्यवसायिक बनाउने उहाँको भनाई थियो । बयलवास बजार क्षेत्रमा कार्यालय सञ्चालन गरेको खाद्य बैङ्कले बजार, कोल्ड स्टोर, प्रविधि सहितको ढुवानी सेवा, खेतीपातीमा आधुनिक प्रविधिको प्रयोग जस्ता विषयमा लगानी जनाएको छ ।

कार्यक्रममा बैङ्कको तर्फबाट प्राविधिक विज्ञ सन्तोष प्रसाईँले किसानहरूको लागत घटाउने तथा उत्पादन बढाउने प्राविधिक पाटोको विषयमा समेत प्रष्ट पार्नुभयो । किसानले ‘मिल्क होलिडे’, ‘फिस होलिडे’ गर्नुपर्ने दुखद अवस्थालाई मध्य नजर गर्दै खाद्य बैङ्क सँगको सहकार्य अगाडि बढाएको ईश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा बोल्नुहुदै मेयर आचार्यले किसान सम्मानित पेशा भएको भन्दै किसानलाई झुत्रेझाम्रे ढङ्गले चित्रण नगर्न समेत आग्रह गर्नु भयो । राष्ट्रिय खाद्य बैङ्कको अवधारण तथा योजना र लगानीबाट यस क्षेत्रका किसानलाई ठुलो फाइदा पुग्ने उहाँको अपेक्षा छ ।

‘‘राज्यमात्रको आशमा किसानहरूको समृद्धिको सम्भावना न्यून छ ।’’ उहाँले भन्नुभयो, ‘‘किसानले रगत पसिना एक गरेर उत्पादन गरेको दाना दाना बजारमा उपयुक्त मूल्यमा बेचेर राम्रो आम्दानी गर्ने अवसर खाद्य बैङ्कले गर्ने कुरामा म ढुक्क छु ।’’ राष्ट्रिय खाद्य बैङ्कले सयौँ बिगाहामा किसानले गरिरहेको खेतीलाई प्रविधिको प्रयोग तथा उन्नत विधि प्रकृयाबाट उत्पादन बढाउदै किसान सँगै हातेमालो गर्ने जनाएको छ ।

यस बैङ्कले हाल सम्म देशका ६७ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका निर्देशक भक्तिराम भुसालले बताउनु भयो । कार्यक्रममा सहभागि स्थानीय किसानहरूले बैङ्कको कार्यक्रम छिटै लागू गर्न आग्रह गरेका थिए । स्थानीय राम विनय दाशले किसान समृद्ध भएमात्र राज्य समृद्ध हुने भएकोले बैङ्क सँग हातेमालो गर्न तयार रहेको बताउनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles