Monday, October 7, 2024

सर्लाहीको पर्सा र रामनगरमा दुई बालबालिकाको शव भेटियो

ताजा / भरखरै प्राप्त

सर्लाही–सर्लाहीको दुई छुट्टा छुटै स्थानका दुई बालबालिकाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका र पर्सा गाउँपालिकामा गरेर दुई बालबालिकाको शव फेला परेको हो । रामनगर गाउँपालिका–२, इनर्वा टोल बस्ने रामध्यान रायको छोरा ४ वर्षका तेजस्वी यादवको शव धानबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

बालक गए राती घरबाटै बेपत्ता भएका थिए । लगतै परिवारले खोजी गर्दा फेला नपरे पछि आज बिहान मात्र प्रहरीमा खोजीको लागि निवेदन दिएका थिए । त्यसपछि प्रहरी चौकी खैराको टोली र आफन्तले खोजी गर्ने क्रममा घरबाट तीन सय मिटरको दूरीमा रहेको धानबारीमा बालको शव फेला परेको हो । प्रहरीले धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

यस्तै पर्सा गाउँपालिका–५, पर्सा टोल बस्ने बब्लु अन्सारीको छोरी २ वर्षकी आयशा खातुनको शव पानीमा डुबेको अवस्थामा फेला परेको छ ।

आफ्नै घर अगाडि खेली रहेको अवस्थामा बालिका हराएको भन्दै परिवारले प्रहरीलाई खवर गरेका थिए । खोजी गर्ने क्रममा बालिका घर अगाडि १ सय ५० मिटर दूरीमा रहेको कुलोमा डुबेको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । घटना स्थलको मुचुल्का तयार गरी शव परीक्षणको लागि प्रादेशिक अस्पताल पठाएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles