लालबन्दी–संविधान तथा राष्ट्रिय दिवसको अवसरमा सर्लाहीको लालबन्दीमा वृक्षारोपण गरिएको छ ।
शुक्रबार बिहान लालबन्दी नगरपालिका–१६, दीपेन्द्र स्मृति सामुदायिक वन रानीगन्ज क्षेत्रमा दिवसको अवसरमा वृक्षारोपण गरिएको हो । दिवस अन्तरगतको अन्तिम दिनको कार्यक्रममा डिभिजन वन कार्यालयको सहकार्यमा विभिन्न जातका रूख रोपिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । वृक्षारोपण जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
यस्तै लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी, उपमेयर कल्पना माया पाख्रिन, डिभिजन वन कार्यालयका कर्मचारी, जिल्लाका चार वटै सुरक्षा निकायका प्रतिनिधि लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको जानकारी दिनुभयो । कार्यक्रममा स्थानीयको समेत बाक्लो उपस्थिति रहेको थियो ।
यस कार्यक्रमका अधिकांश वक्ताहरूले बिरुवा लगाउनु भन्दा पनि हुर्काउने कुरामा जोड दिन आग्रह गरे । सोही अवसरमा कालिन्जोर खोलाको छेउमा रहेको नदि उकास जमिन र काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इकाई क्याम्पसको रुपमा कृषि, पशु र वन विज्ञानको पठनपाठन सञ्चालनको तयारीमा रहेको परवानीपुर स्थित विद्यालयको भवनको समेत अवलोकन गरिएको नगरपालिकाले जनाएको हो ।