लालबन्दी–नागरिक बचाउँ अभियानका अभियन्ता दुर्गा प्रसाई विरुद्ध पक्राउ पुर्जी जारी भएको बिरोधमा सर्लाहीका समर्थक आन्दोलित भएका छन् ।
आज लालबन्दी आउने तयारीमा रहनु भएका प्रसाई बिरुद्द पक्राउ पुर्जी जारी भएको समर्थकले केहीबेर लालबन्दी स्थित पुर्व पश्चिम राजमार्गमा अबरोध गरेकाहुन् । नागरिक बचाँउ अभियान अन्तरगत लालबन्दी बजारमा आयोजना गरिएको आम सभाका लागि सर्लाही सहित छिमेकी जिल्लाबाट सयौँ समर्थक उतारिएको थियो ।
उनीहरुले झण्डै आधा घण्टा पूर्व पश्चिम राजमार्गमा यातायात आवागमन ठप्प पारेका थिए । प्रशासनले प्रसाई विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी गरेको जनाएको छ । समर्थकहरुले दुर्गा प्रसाईको पक्षमा नारावाजी गर्दै प्रसाई विरुद्धको पक्राउ पुर्जी फिर्ता लिन माग समेत गरे ।
केही दिन देखी जोडतोडका साथ तयारी गरिएको नागरिक बचाँउ अभियान आम सभा प्रसाईको उपस्थिती हुन नपाए पनि सफल भएको कार्यक्रम संयोजक बद्री न्यौपानेले दाबी गरे । प्रसाई विरुद्ध पक्राउ पुर्जी जारी भएपछि लालबन्दीमा आयोजित आमसभा स्थगित हुने हाल्ला फिजिएको थियो ।
दिउसो सम्म पनि आयोजकले आमसभामा सहभागी नागरिकहरुलाई अभियानका संयोजक लगायतका वक्ताहरुले लाइभ सम्बोधन गर्ने भनि आश्वासन सहित कार्यक्रम स्थलमा राखेका थिए । तर, लाइभ प्रसारण समेत नभएपछि कार्यक्रममा सहभागि नागरिकहरु निरास हुदै त्यसै फर्किएका थिए ।
यसै बिच प्रसाई विरुद्ध पक्राउ पुर्जी जारी गरिएको विरोधमा नागरिक बचाँउ अभियानले भोली (शुक्रवार) देखि देशैभर चक्काजाम गर्ने चेतावनी दिएको छ । बिहिवार विज्ञप्ती जारी गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए आज साँझ राँके जुलुस र विरोध प्रदर्शन तथा भोली चक्का जाम गर्ने चेतावानी दिएको हो ।
अभियानले शान्तिपूर्ण रुपमा चलाइएको आन्दोलनलाई दमन गर्दै गणतन्त्रको उपहास हुने गरी नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सरकारले हनन गरेको आरोप लगाएको छ । सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै कार्यक्रम स्थल आसपासमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
केहि बेर चक्काजाम र नाराबाजी पछि शान्ति पूर्ण रुपमा आमसभा सम्पन्न भएको छ ।