लालबन्दी-नेपाली सेनाको भैरवी दल गण पाँचकुमारीले सर्लाहीको लालबन्दी नगरपालिका स्थित श्री पाँच कुमार प्राथमिक विद्यालयमा बेन्च र ट्रयाकसुट वितरण गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच लालबन्दी नगरपालिका–२, पुनर्वास टोलमा रहेको श्री पाँचकुमार प्राथमिक विद्यालयलाई २० थान बेन्च र १५० थान ट्रयाकसुट वितरण गरिएको गणका गणपति प्रमुख सेनानी सूर्य बहादुर कार्कीले जानकारी दिनुभयो । मध्य पूर्वी पृतनाको अवधारण अन्तरगत मधेश प्रदेशका जिल्लामा रहेका विपन्न परिवारका छात्रछात्रा अध्ययन गर्ने भौतिक पूर्वाधार कमजोर रहेका विद्यालयलाई स्थानीय साधन श्रोतको प्रयोगबाट शैक्षिक स्तर सुधारमा सहयोग कार्यक्रम अन्तरगत सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
यस विद्यालय आवश्यक संरचनाको हिसाबले समेत निकै जीर्ण रहेको उहाँले जानकारी दिनुभयो । ‘‘एक युनिट, एक विद्यालय सहयोग’’ कार्यक्रम अन्तरगत सामुदायिक विद्यालयको स्तर उन्नतिमा टेवा पुर्याउने उद्देश्य रहेको कार्यक्रममा सहभागि नेपाली सेना मध्य पूर्वी पृतनापति उपरथी सुदर्शन सिलवालले भनाई थियो । आन्तरिक श्रोत साधनको अभावमा बालबालिकाहरूको पढाइ लेखाइमा असर नपरोस् भन्ने अभिप्रायले सहयोग कार्यक्रम गर्दै आएको उहाँको भनाई छ ।
यस विद्यालयलाई भैरवीदल गणबाट विद्यार्थीहरूको स्वास्थ्य परीक्षण, जानकारी मूलक कक्षा सञ्चालन, शैक्षिक तथा खेलकुद सामाग्रीहरू वितरण, विद्यालयको रङ्ग रोगन, धारा निर्माण, शौचालय निर्माण, पङ्खा, ग्रिल जडान, विद्यालय परिसरमा वृक्षारोपण लगायत पि.टी, नृत्य तथा खेलकुद प्रशिक्षण कार्यमा समेत सहयोग हुदै आएको विद्यालय प्रशासनले जनाएको हो ।