हरिपुर– ग्रामीण नारी उत्थान सङ्घ हरिपुरले नेतृत्व तथा सङ्गठनात्मक विकास सम्बन्धी तालिम सञ्चालन गरेको छ ।
सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकामा क्रियाशील समुदायमा आधारित संस्थाका पदाधिकारीहरूलाई उक्त तालिम प्रदान गरेको हो । ग्रामीण नारी उत्थान सङ्घले हरिपुर र ईश्वरपुर नगरपालिकामा बाल विवाह न्यूनिकरण तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सिइएफएम परियोजना कार्यान्वयन गरिरहेको छ ।
उक्त परियोजना मार्फत बालविवाह नियन्त्रणका लागि सडक नाटक, समुदायमा आधारित छलफल, सरोकारवालाहरू सँग सहकार्य लगायतका गतिविधिहरू सञ्चालन गर्दै आएको हो । यस संस्थाले परियोजना कार्यान्वयनका लागि विभिन्न स्थानीय सङ्घ संस्थाहरू सँग समेत सहकार्य गरेको छ । सोही संस्थाका पदाधिकारीहरूको क्षमता विकासको लागि तालिम सञ्चालन गरिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै ग्रामीण नारी उत्थान सङ्घका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले संस्थाको दिगोपनको लागि नेतृत्व विकास जरुरी रहेको बताए । विगतबाट पाठ सिकेर सहकर्मी संस्थाहरूको नेतृत्व विकासलाई ग्रामीण नारी उत्थान सङ्घले उच्च प्राथमिकतामा राख्दै आएको चालिसेको दावी छ ।
तालिममा विभिन्न विषयमा २३ जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो ।