बागमती– गए रातिदेखिको निरन्तर भारी वर्षाका कारण मकवानपुरको कुलेखानी जलविद्युत आयोजनाको ड्याममा पानीको सतह उच्च बनेको छ ।
यस्तै वर्षा थप ५ देखि ७ घण्टा निरन्तर रहे ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने र यसले बागमती नदी तटीय क्षेत्रमा बाढी आउने भन्दै स्थानीयलाई सचेत गराइदिन नेपाल विद्युत प्राधिरकण कुलेखानी प्रथम जलविद्युत केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ ।
केन्द्रका प्रमुख तारादत्त भट्टले प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै यदि ड्यामको ढोका खोलेको अवस्थामा तटीय क्षेत्र कुनै पनि समयमा बाढी तथा डुवानको अवस्था आउने भन्दैै स्थानीयलाई सतर्कता अपनाउनका आग्रह गरेको हो ।
केन्द्रले पत्रमा भनेको छ, ‘अहिले भइरहेको अविरल वर्षाको कारण यस कुलेखानी जलविद्युत केन्द्रको ड्याममा पानीको सहत बढी हुन सक्नुका साथै चखेल, सिम, मुख्य ड्यामको ढोका खोल्न पर्न सक्ने हुनाले बागमती खोलाको बहान बढन् गई तटीय क्षेत्रमा कुनै पनि समयमा डुवानमा पर्ने सम्भावना रहेको व्यहोरा जानकारी गराउँदै त्यस क्षेत्रका स्थानीयलाई समयमै सुरक्षित रहन तथा उच्च सतर्कता अपनानउ आवश्यक जानकारी गराइदिन अनुरोध छ ।’