बागमती– उखरमाउलो गर्मीका कारण सर्लाही सहित तराईको जनजिवन प्रभावित बनेको छ ।
पानी पर्न रोकिए पछि लगातार बढेका तापक्रमका कारण जनजिवन प्रभावित बनेको हो । केही दिन देखी सर्लाही सहित तराईका जिल्लामा बिहानै देखी चर्को घाम लाग्ने गरेको छ । साँझ सम्म चर्को घाम लाग्दा दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवार, खेती किसानी गर्ने परिवार, विद्यालय जानुपर्ने बालबालिका तथा वृद्धवृद्धा धेरै समस्यामा परेका हुन् ।
गर्मीले घरबाहिर निस्कन मुस्किल हुन थालेपछी चोक चौतारा तथा बजारहरू सुनसान जस्तै बनेका छन् । गर्मीले रातको समयमा समेत सुत्न गारो हुने गरेको सर्लाहीको हरिपुर नगरपालिका–१, का दिवाकर महताेले बताए । त्यसमा बेलाबेलामा विद्युत आउने जाने समस्याका कारण स्थानीय थप आक्रान्त बनेका छन् । असोज लागि सक्दा पनि गर्मी नघटेको भन्दै स्थानीय हैरानीका परेका छन् ।
आज सर्लाहीको तापक्रम ४० डिग्री बढि मापन भएको छ । मौसम पूर्वानुमान अनुसार जनकपुर क्षेत्रमा ३९ देखी ४१ डिग्री सेन्टिग्रेट तापक्रम मापन भएको छ ।
यसरी पानी पर्न रोकिएर गर्मी बढेपछि आकाशे पानीको भरमा धान लगायतका किसान चिन्तामा परेका छन् । चर्को गर्मीले पोटाउन लागेको धान सुक्ने अवस्था भयो । स्थानीय रामजी रायले भन्नुभयो, यो चुरेको ठाउँमा सिँचाइको सुविधा छैन् । रोप्ने बेलामा राम्रो पानी परेको हो । फल्न देला जस्तो छैन् । अत्यधिक तापक्रमका कारण तरकारी जन्य बालीमा समेत क्षति पुग्ने खतरा बढेको कृषि प्राविधिकहरूको भनाई छ ।
गर्मी बढेसँगै तराईका ठाउँमा विषालु सर्पको बिगबिगी पनि बढेको पाहिएको छ । जिल्ला स्थित सर्प दंश उपचार केन्द्र नवलपुर, बरहथवा, मलङ्गवामा दैनिक सर्प दंशका विमारी बढेको पाहिएको हो । अन्य समयमा भन्दा केही दिन देखी गर्मी बढेपछि सर्प दंशका दैनिक २०÷२५ जना सम्म आउने गरेका केन्द्रले जनाएको छ ।
अत्यधिक गर्मीका कारण सर्प प्वाल बाहिर निस्कने भएकाले सर्प दंशका विमारी बढ्ने गरेको स्वास्थ्यकर्मीहरूको भनाई छ । यस्तो समयका रातको समयमा घरबाहिर ननिस्कन, निस्कनै परे बत्ती अनिवार्य बोक्न चिकित्सकहरूको आग्रह समेत छ ।
यस्तै गर्मीको समयमा शरीरबाट पसिना धेरै बग्ने भएकोले पानीको मात्रा कम हुनेभएकाेले डिहाइड्रेसन हुन सक्ने भएकोले सफ पानी बेलाबेलामा पिउन चिकित्सकहरूको आग्रह छ । अत्यधिक गर्मीको समयमा रिङ्गटा लाग्ने, ज्वरो आउने, खान मन नलाग्ने, टाउको दुख्ने, झाडापखाला हुनसक्ने भएकाले सफा र स्वच्छ खानेकुरामात्र खानुपर्ने चिकित्सकहरूको सल्लाह छ ।