Friday, December 5, 2025

सिङ्गो कृषि ज्ञान केन्द्र सर्लाही एउटै कोठामा, बजेट तीन वर्ष देखी फ्रिज

ताजा / भरखरै प्राप्त

बरहथवा (सर्लाही), २९ साउन-जिल्ला कृषि ज्ञान केन्द्रको सिङ्गो कार्यालय एउटै साँघुरो कोठाबाट सञ्चालन भइरहेको छ ।

कार्यालयको भवन जीर्ण बन्दै गएपछि अहिले सिङ्गो कार्यालयनै एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नु परिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले जानकारी दिनुभयो । जिल्ला सदरमुकाम मलङ्गवामा रहेको साविक जिल्ला कृषि विकास कार्यालय स्थानीय तह निर्वाचन पश्चात जिल्ला कृषि ज्ञान केन्द्रमा रूपान्तरण भएको थियो ।

पुराना भवनहरू कामै नलाग्ने गरी जीर्ण बनेका कारण कार्यालय एउटा कोठामा खुम्चिएको कार्यालय प्रमुख यादवको भनाई छ । ‘‘पहिला बनेका भवनहरू अत्यन्त जीर्ण अवस्थामा छ ।’’ उहाँले भन्नु भयो, ‘‘कुन बेला भत्किने पत्तो छैन् । भित्ता सबै उप्किएको छ । छतबाट बर्सातमा पानी सबै भित्र पस्छ । पुरानो जमिन अनुसार भवन बनेको थियो । अहिले भवन होचो भइसक्यो बाढी कार्यालयमा पस्छ । कसरी काम गर्नु ?’’

भवन निमार्णको लागि यस कार्यालयले ४ वर्ष पहिला ५ लाखको लागतमा परियोजना विस्तृत विवरण (डिपिआर) तयार गरेर प्रदेश मन्त्रालयमा बुझाएको छ । तर, डिपिआर स्वीकृत नगरिदिएका कारण भवनको लागि आएको बजेट वर्षेनी फिर्ता गएको कार्यालय प्रमुख यादवले बताउनु भयो । उहाँका अनुसार गत तीन वर्ष देखी यस कार्यालय निर्माणको लागि आएको बजेट तीन करोड ८५ लाख फ्रिज भइसक्यो ।

कार्यालय भवन निर्माणको लागि आर्थिक वर्ष २०७७/७८ मा ५० लाख बजेट बिनियोजन भएको थियो । त्यस पछि ०७८/७९ र ०७९/८० मा दुई करोड र एक करोड ३५ लाख बजेट डिपिआर स्वीकृत नभएकै कारण फिर्ता भएको छ । ‘‘हामी पटक–पटक प्रदेश मन्त्रालय पुग्यौँ ।’’ उहाँले भन्नु भयो, ‘‘डिपिआर स्वीकृत गरिपाउँ भनेर अनुरोध गरेका छौँ । तर, भएको छैन् । विना डिपिआर भवन बन्दैन । हामी यसरी अत्यन्त दयनीय अवस्थामा सेवा प्रवाह गर्नु पर्ने अवस्था छ ।’’

अत्यधिक तराई भूभाग रहेको जिल्लामा अधिकांश क्षेत्र खेती योग्य जमिन छ । कृषि पेसा जिल्लाको पहिलो उद्यम हो । तर, त्यही कृषि क्षेत्रको विकास समन्वय, सङ्घ तथा प्रदेश स्तरको कार्यक्रम व्यवस्थापन गर्ने जिम्मेवारी पाएको कार्यालयको अवस्था टिठलाग्दो बनेको छ । कार्यालय व्यवस्थापन हुन नसक्दा कृषि कार्यक्रमका लागि आएका अधिकांश बजेट यसै फ्रिज हुने गरेको उहाँले बताउनु भयो ।

यस कार्यालयमा न न्यनतम आवश्यकता अनुसारको भौतिक संरचना छ । न त कर्मचारी, दरबन्दीको आधा कर्मचारीको भरमा कार्यालय मुस्किलले सञ्चालन भइरहेको कार्यालय प्रमुख यादवले बताउनु भयो । यस कार्यालयमा ९ जना प्राविधिक सहित १५ जनाको दरबन्दी छ । तर, कार्यालयमा प्रमुख सहित तीन जना मात्र प्राविधिक छन् । कार्यालय सहयोगी, ड्राइभर, कम्प्युटर अपरेटर गरी ७ जना कर्मचारी काम गरिरहेका छन् ।

गत आर्थिक वर्ष कृषि सिँचाईको लागि आएको ४ करोड १० लाख बजेटबाट मुस्किलले आधा काम गर्न सकेको कृषि अधिकृत सिताराम यादवले बताउनु भयो । दैनिक ज्यालादारी प्राविधिक कर्मचारी राखेर समेत केही काम गरेको कृषि अधिकृत यादवले बताउनु भयो । ‘‘काम आफैले सबै गरेर हुदैन् ।’’ उहाँले भन्नुभयो, ‘‘किसानहरु कार्यालयले काम गरेन भन्नु हुन्छ । कार्यालयको अवस्था यस्तो छ ।’’

कृषि बजार तथा कृषि सडक निर्माणको लागि आएको करोडौँ रकम काम गर्न नसकेर फिर्ता भएको उहाँले जानकारी दिनुभयो । किसानले प्रकृया पुर्याउन नसक्ने गरी अन्तिम समयमा आउने बजेट समेत यसै फिर्ता हुने गरेको उहाँको भनाई छ । समय नपुग्ने गरी कृषि कार्यक्रमका लागि बजेट आउने गर्दा किसानहरुले पाउनु पर्ने सेवा नपाएका सर्लाहीको बरहथवा नगरपालिका–५, हात्ती डण्डाका किसान रमकरण महतोले दुखेसो पोख्नु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles