मलंगवा-सर्लाहीमा १० वर्षमा ११ हजार ४ सय ६ दशमलव ७ हेक्टर अर्थात १६ हजार ८ सय ४२ दशमलव ३५ विगा खेती योग्य जमिन घटेको छ ।
जिल्लामा लगातार खेती योग्य भूभाग मासिने क्रम बढ्दो रहेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्कले देखाएको हो । १० वर्ष अगि २०६८ मा भएको जनगणना तथ्याङ्क अनुसार जिल्लाको कुल भूभाग एक लाख २५ हजार ९ सय हेक्टर मध्य ८४ हजार ६ सय ७८ हेक्टर खेती योग्य जमिन रहेको थियो ।
त्यही खेती योग्य जमिन घटेर अहिले ७३ हजार २ सय ७१ दशमलव ३ हेक्टर क्षेत्रफलमा खुम्चिएको हो । अव्यवस्थित तवरले भइरहेको भौतिक विकासको प्रत्यक्ष असर जिल्लाको खेती योग्य जमिनमा परेको जिल्ला कृषि ज्ञान केन्द्र सर्लाहीका कार्यालय प्रमुख देवानन्द राय यादवले बताउनु भयो ।
खेती योग्य जमिन अतिक्रमणमा पर्दै जादा जिल्लाको कृषि उत्पादको अवस्था समेत खस्कँदै गएको पाहिएको छ । सङ्घीयता कार्यान्वयन पछि थप तीब्र गरीमा खेती योग्य जमिन मासिने क्रम बढेको जिल्ला स्थित नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले जानकारी दिनुभयो ।
‘‘केही वर्ष पहिला सम्म धान फल्ने खेतमा अहिले बडेमानका बिल्डिङ बनि सके ।’’ नागरिक समाजका अगुवा चौधरीले भन्नु भयो, ‘‘पहिला हरियो खेतका फाट देखिन्थ्यो । अहिले घरैघर छन् । स्थानीय तह भएपछि निर्माण भएका भौतिक संरचना, कृषि सडकका नाममा बनेका चिल्ला कालोपत्रे, कालो पत्रे भएपछि घर बनिहाल्छ ।’’
अव्यवस्थित रुपमा भएका विकासको असर चौतर्फी परेको सर्लाहीको कविलासी निवासी पूर्व शिक्षक तथा मानव अधिकारकर्मी रजनी कान्त झाको भनाई छ । मानिसले आवासको लागि भन्दा पनि खेत खेतमा अन्धाधुन्द व्यापारिक भवन निर्माण गर्ने क्रम नरोकिए केही दशक पनि अन्न खाने खेत पनि बाँकी नरहने उहाँको भनाई छ ।
खेती योग्य उर्वर भूभाग नष्ट पारेर कङ्क्रिटको महल ठड्याउने होड पछिल्लो समय तीब्र बनेको भन्दै सर्लाहीको हरिपुर नगरपालिका–१, का रामकुमार तिमल्सेनाले चिन्ता व्यक्त गर्नु भयो । ‘‘जमिनको वर्गीकरण गरेको भन्ने सुनेको हो ।’’ उहाँले भन्नु भयो, ‘‘कार्यान्वयन नभए यसले कही अर्थ राख्दैन् । खेती योग्य जमिन मासिने क्रम अनियमित भएको उहाँको तर्क छ ।’’
जनसङ्ख्याको आधारमा नयाँ घरहरू बन्नु, सोही अनुसार भौतिक निर्माण हुने नियमित प्रकृया भएपनि कृषि योग्य जग्गालाई प्लटिङ गर्ने, खेत–खेतमा चौडा सडक पुर्याउने लगाएतको गतिविधिका कारण अनियमित किसिमले खेती योग्य जमिन नष्ट हुदै गएको रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादवले स्वीकार गर्नु भयो । ‘‘यसको नियन्त्रण आवश्यक छ ।’’ उहाँले भन्नु भयो ।
तराईको समथर फाट जताततै सडक, पानी, बिजुली लगाएतको सुविधिका कारण बसाई सराई बढेका कारण समेत जिल्लाको खेती योग्य जमिन घट्दै गएको विभिन्न तथ्यांकहरुले देखाएको छ । ‘‘पहाडी भुभागबाट तराई बसाई झर्नेको केही पहिला सम्म ताती नै हुन्थ्यो ।’’ सर्लाहीको बागमती नगरपालिका–१, का वडाध्यक्ष गम्भीर सिङ पाख्रिनले भन्नु भयो, ‘‘अहिले केही कम भएको छ । तर, असर त्यसको पनि परेको छ ।’’
संघ, प्रदेश तथा स्थानीय तहले समेत भौतिक संरचना निर्माण, सडक लगायतका विकास गर्दा खेती योग्य उर्वर भुभागको संरक्षणमा विषेश ध्यान दिनुपर्ने नागरिक समाजका अगुवा चौधरी बताउनु भयो । अव्यवस्थित विकास निर्माणले जिल्लाको कृषि उत्पादनमा नकारात्मक असर पुर्याई रहेको उहाँको दावी छ ।
जिल्लामा खेती योग्य जमीनको क्षेत्रफल घट्दो क्रममा रहे पनि सिँचित क्षेत्रफल बढेको तथ्याङ्कले देखाएको छ । २०६८ को तथ्यांकमा ४५ हजार ५ सय हेक्टर खेती योग्य जमीनमात्र सिँचाई सुविधा पुगेको थियो । तर, पछिल्लो समय भुमिगत सिँचाई तथा सिँचाई व्यारेज निर्माणबाट ५२ हजार ४ दशमलव ८ हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगेको तथ्याङ्कले देखाएको छ ।