बागमती-सर्लाही प्रहरीले वृद्धको साथबाट ४ लाख ७० हजार पैसा लुटेर फरार रहेका तीन जनालाई बागमतीबाट पक्राउ गरेको छ ।
एक वृद्धको साथबाट पैसा लुटेर फरार भएको आरोपमा प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१२, पुतली चोक नजिकै कालिका होटलबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बागमती नगरपालिका–४, जिरायत बस्ने ४० वर्षका राम बहादुर थिङ, धादिङ जिल्लाको सुनौलो नगरपालिका–४, रिजालटोल बस्ने ४४ वर्षको कृष्ण ठकुरी र मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१२ बस्ने ५४ वर्षका रूपक भुजेल रहेका छन् ।
उनीहरुले सोमबार सिन्धुलीको भिमानबाट बर्दिबास आँउदै गरेका बसका यात्रु महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३, बस्ने ७० वर्षका रेशम बहादुर बलम्पाकीको साथबाट ४ लाख ७० हजार रुपैयाँ लुटेर फरार भएका थिए । घटना लगतै पछ्याएको प्रहरी टोलीले सूचनाको आधारमा बागमती स्थित कालिका होटलबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट दुई लाख २८ हजार ५ सय रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।
बाँकी पैसा उनीहरूले विभिन्न बैँक खातामा जम्मा गरेको तथा केही खर्च गरेको बताएका प्रहरीले जनाएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ परेका तीनै जना अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
वृद्धको पैसा लुटेपछि उनीहरु बर्दिबासमा बसबाट झरेर धरान–नारायणगढ चल्ले नम्बर नखुलेको बसमा बागमती नगरपालिका–१२, स्थित पुतली चोकमा झरेर होटलमा बसेका प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए । जिल्ला अदालतबाट म्याद थप गरी उनीहरु विरुद्ध चोरी, लुटपाट तथा डाँका मुद्दामा अनुसन्धान सुरु गरिएको उन्रले बताए ।

