Tuesday, January 21, 2025

लखन्देहीले भत्काएको बाँध सशस्त्र र सेनाको टोलीद्वारा मर्मत

ताजा / भरखरै प्राप्त

कौडेना-सर्लाहीको कौडेनामा बाढीले भत्काएको लखन्देही खोलाको बाँध स्थानीयको सहयोगमा सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले मर्मत गरेको छ ।

आज सशस्त्र प्रहरी १० नम्बर गण कविलासी र भैरवी दलगण पाँच कुमारी ब्यारेकबाट पुगेको नेपाली सेनाको टोलीले लखन्देही खोलाको बाँध मर्मत गरेको हो । गत साउन १६ गते चुरे क्षेत्रमा भएको भीषण वर्षापछि आएको बाढीले कौडेना गाउँपालिका–५, स्थित लखन्देहीको बाँध भत्काएको थियो ।

बाढीले भत्काएको १५ मिटर लामो १० फिट चौडा बाँध निर्माणमा स्थानीय, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निर्माण गरिरहेको कौडेना गाउँपालिका–५, कि वडाध्यक्ष अनिशा खातुनले जानकारी दिनुभयो । बाँध फुटेपछि लखन्देहीको पानी कौडेना गाउँपालिका–५, स्थित छपकैया, भाडसर र खुटौना गाउँतर्फ सोझिएको थियो ।

उक्त स्थानमा खोलाले दुई सय ५० मिटरभन्दा धेरै बाँध कटान गरेको उहाँको भनाइ छ । “खोलाले अरु धेरै बाँध कटान गरेको छ”, उहाँले भन्नुभयो, “अर्को पटक ठूलो बाढी आए डेढ दुई सय बिघा खेत र दुई वटा गाउँ नै बगाउने जोखिम छ । स्थानीय, प्रहरी र सेनाको सहयोगमा अस्थायी बाँध बनाउँदै छौँ । जोखिम अझै छ ।” बाँध निर्माणमा प्रहरी र सेनाको गरी ५६ जनाको टोली तथा सयौँको सङ्ख्यामा स्थानीय खटिएका उहाँले बताउनुभयो ।

यस क्षेत्रमा बलियो बाँध निर्माण गर्नुपर्ने स्थानीय रामविलास रायले माग गर्नुभयो । बाँस र बोरामा बालुवा हालेर बनाएको कमजोर बाँधका कारण हरेक वर्ष वर्षामा खोलाले गाउँ बगाउने डरमा बस्नु परेको उहाँको गुनासो छ । बाढीले बाँध भत्काएको स्थानमा बाँसको पाइलिङ गरेर बोरामा बालुवा भरेर बाँध बनाएको वडाध्यक्ष खातुनको भनाइ छ ।

बाँध निर्माणका लागि गाउँपालिकाले बालुवा भर्ने बोराको व्यवस्था गरिदिएको उहाँले जानकारी दिनुभयो । खोलाले बाँध भत्काएकै दिनबाट स्थानीय मर्मतका लागि खटिरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles