मलङ्गवा-बोलबम यात्री सवार ट्रयाक्टर सर्लाहीको मलङ्गवा नगरपालिकामा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
आइतबार दिउसो मलङ्गवा नगरपालिका–१२, स्थित नहरमा ज २ त ३२७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ५ जना बोलबम यात्री घाइते भएका हुन् । उनीहरुलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा सर्लाहीको चक्रघट्ट गाउँपालिका–५, बस्ने २६ वर्षकी शान्ति देवी, उनको ९ वर्षकी छोरी सुस्मिता देवी, ४० वर्षकी गीता देवी, ४५ वर्षकी पतही देवी र उनको छोरी ११ वर्षकी अंशु कुमारी रहेको प्रहरीले जनाएको छ । घाइते मध्य पतही देवीको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनु भयो ।
उहाँको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगन्ज रिफर गरिएको छ । अन्य घाइतेहरूको टाउको, डाँड, खुट्टा लगायत शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको हो । तीब्र गतिमा रहेको ट्रयाक्टर अनियन्त्रित भई नहरमा खसेको प्रत्यक्षदर्शीको भनाई छ ।
दुर्घटना लगतै फरार भएका ट्रयाक्टर चालक चक्रघट्ट गाउँपालिका–८, औरही निवासी ३० वर्षका राम बालक रायको खोजी भइरहेको प्रहरीले जनाएको छ । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् ।