राजु तामाङ, हरिवन–सर्लाही एम्बिसन एकेडेमीका छात्रछात्राहरूले खाजा खर्च कटाएर आश्रममा एक छाक भोजन गराएको छन् ।
सोमबार हरिवन नगरपालिका–१०, नयाँरोडबाट परियोजना कार्य अन्तरगत छात्रछात्राहरू मानवसेवा आश्रम अवलोकन गर्न पुगेका थिए । सोही क्रममा विद्यार्थीहरूले आफ्नो खाजाखर्चको पैसाबाट ७ हजार ५० रुपैयाँ मिष्ठान्न भोजनका लागि आश्रमलाई हस्तान्तरण गरेका हुन् ।
विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्राहरूले परियोजना कार्य (प्रोजेक्ट वर्क)का लागि हरिवन नगरपालिका–१, कैलाशपुरीमा रहेको मानवसेवा आश्रम पुगेर अध्ययन अवलोकन गरेका हुन । विद्यार्थीको अवलोकन कार्यमा आश्रमका व्यवस्थापक विवेक महतोले मानव सेवा आश्रमको बारेमा जानकारी दिएका थिए ।
विद्यार्थीहरूले आश्रमको विषयमा जानकारी लिएपछि स्वतस्फुर्त रुपमा भोजनको लागि सहयोग गरेका विद्यालयका संस्थापक प्रधानाध्यापक सुरेश पाख्रिनले जानकारी दिए ।
हाम्रो चाहना – सबैको लागि खाना, नाना र छाना स्वास्थ्य र शिक्षा हाम्रो प्रतिबद्धता – सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा भन्ने उद्देश्य सहित यस मानवसेवा आश्रमको सर्लाही शाखाले सेवा दिइदै आइरहेको छ ।