मलंगवा–जिल्ला प्रहरी कार्यलय सर्लाहीले विभिन्न मुद्दामा फरार रहेका १७ जना दोषीलाई अदालतमा बुझाएको छ ।
विभिन्न समयमा पक्राउ परेका १७ जना दोषीहरुलाई पक्राउ गरेर अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । पक्राउ परेकाहरु विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका तथा लुकिछिपी बसेका दोषी रहेका जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा धनकौल गाउँपालिका–१, निवासी हरिफि महतो, जगनाथ महतो, बिरेन्द्र महतो, राजदेव महतो, जितेन्द्र महतो, लखन महतो, महेन्द्र महतो रहेका प्रहरीले जनाएको हो । उनीहरुलाई जिल्ला अदालत सर्लाहीले कुटपिट मुद्दामा दोषी ठहर गर्दै जनही ६५ रुपैया ५७ पैसा जरिवाना फैसला गरेको थियो ।
यस्तै धनकौल गाउँपालिका–१, निवासी कुसुमी हजारी र नागेन्द्र हजारीलाई जिल्ला अदालत सर्लाहीले गागिगलोज मुद्दामा दोषी ठहर गर्दै जनही ४१ रुपैया ६७ पैसा जरिवाना फैसला गरेको थियो । लगतै उनीहरु फरार भएका थिए । फैसला कार्यान्वयनको लागि उनीहरुलाई पक्राउ गरी अदालतमा पेस गरेको प्रहरीले जनाएको छ ।
यस्तै बरहथवा नगरपालिका–९, बस्ने राम औतार महरा, सोनालाल महरा र मोहपन महरालाई पनि प्रहरीले फैसला कार्यान्वयनको लागि पक्राउ गरी अदालतमा पेस गरेको छ । उनीहरुलाई अदालतले कुटपिट तथा लुटपाट घटनामा दोषी ठहर गर्दै जनही ६० रुपैया जरिवाना फैसला गरेको छ ।
यसैविच सर्लाहीको हरिपुर्वा नगरपालिका–२, निवासी शत्रुधन साह हलुवाईलाई अदालतले दाईजो प्रथा तथा ज्यान मार्ने उद्योगमा १० हजार रुपैया धरौटी फैसला गरेको छ । भने, धन्कौल गाउँपालिका–५, बस्ने अमरनाथ राउतलाई नकवजनी चोरी मुद्दामा २ महिना कैद र ५ हजार जरिवाना फैसला भएको छ । फैसला कार्यान्यनको लागि प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको हो ।
प्रहरीले सुन्दरपुर चुहड्वा बस्ने तिरकुल चौधरीलाई कुटपिट मुद्दामा फैसला भएको ५ सय धरौटी, साविका सुन्दरपुर गाविस–४, बस्ने महरचन मुखियालाई कुटपिट मुद्दामा दुई रुपैया धरौटी र बरहथवा नगरपालिका–१४, निवासी बिरेन्द्र प्रसादलाई गाली बैजती मुद्दामा एक सय रुपैया धरौटी फैसला गरेको र सोही कार्यान्वयनको लागि अदालत पेस गरिएको प्रहरीले जनाएको हो ।