सर्लाही–जिल्लाको दुई स्थानमा डुबान तथा झरीले लाखौँको क्षति भएको छ ।
बुधबार सर्लाहीको पर्सा र ब्रह्मपुरीमा डुबान तथा झरीले क्षति पुर्याएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पर्सा गाउँपालिका–१, सितलपुरमा स्थानीय देवेन्द्र कुमार रायले सञ्चालन गरेको कुखुरा फारममा हर्दीखोला पसेको हो । फारममा खोला पस्दा १२ सय वटा ब्रोइलरको चल्ला र एक सय वटा ठुलो कुखुरा मरेको हो ।
खोलाले तीन बोरा कुखुराको दाना समेत बगाएको प्रहरीले जनाएको छ । यसबाट एक लाख २३ हजार दुई सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
यस्तै ब्रह्मपुरी गाउँपालिका–२, मा झरी पछि एउटा घर भत्किएको प्रहरीले जनाएको छ ।
स्थानीय लक्ष्मण गुप्ताको टायलले छाएको कच्ची घर झरीले भत्किएको हो । घर भत्किदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा, ४ थान पङ्खा समेत गरी ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको हो । गुप्ता परिवार अहिले छिमेकीको घरमा शरण लिएर बसिरहेका प्रहरीले जनाएको हो ।