बागमती–मोफसलको उदाउदो क्लव बागमती युवा क्लब सर्लाहीले सहिद स्मारक सी डिभिजन लिग च्याम्पियन बन्दै उपाधि उचालेको छ ।
बुधबार ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा पुल्चोक स्पोर्ट्स क्लब सँग गोल रहित बराबरी खेलेर लिग च्याम्पिएन बनेको हो । बागमती युवा क्लव सर्लाहीले १३ वटा खेलमा नौ वटामा जित, तीन वटामा बराबरी र एउटा खेलमा हार बेहोरेको थियो । ३० अंक जोडेको बागमती दुई खेल अगावै शिर्ष स्थानमा रहेर बि डिभिजनमा उक्लिएको थियो ।
समान खेल खेलेको सुर्खेतको आरसी–३२ आठ वटा खेलमा जित, दुई खेलमा बराबरी र तीन खेलमा हार सहित २६ अंक जोड्न सफल भयो । शिर्ष दुईमा पर्न सफल यस क्लव लिगको भने उपविजेता बनेको छ । बागमतीले दोस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमी सुर्खेतलाई ४ अङ्कले पछि पार्यो ।
यस्तै प्रतियोगितामा समान खेलबाट २२ अङ्ककका साथ पुल्चोक युवा क्लव तेस्रो स्थानमा रह्यो ।‘बी’ डिभिजनमा उक्लिएको बागमती युवा क्लब सर्लाहीले पछिल्लो समय मोफसलमा हुने विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । बागमती युवा क्लवले पहिलो छनौट खेलमै ‘सि’ डिभिजन लिग च्याम्पियन बनेर आफुलाई अब्बल सावित गरेको छ ।
खेल क्षेत्रमा भबिश्य खोज्दै गरेका मोफसलका खेलाडीहरुलाई जितले उर्जा थपेको क्लवका सचिव कुमार प्रधानले प्रतिकृया दिए । आफुहरु लिग च्याम्पियन बनेर उपाधि बागमती नगरपालिकाका तत्कालिन मेयर भरत कुमार थापाको पोल्टामा राखिदिने प्रतिबद्धता सहित मैदान उत्रिएको उनको भनाई थियो ।
मेयर थापाले देखेको सपना पुरा भएको क्लवका महासचिव सागर मैनालीको भनाई छ । क्लवलाई थप व्यवस्थित गर्दै लैजाने योजना रहेको उनले सुनाए । मेयर थापा निर्वाचित भएपछि बागमती युवा क्लवलाई व्यवसायिक बनाउदै लगिएको थियो । यस क्लवले बागमती नगररपालिका–११, स्थित स्व. सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा प्रदेशमै चर्चित राजर्षि जनक कप आयोजना गर्दै आएको थियो ।
आर्थिक व्यवस्थापन तथा सहिद स्मारक सी डिभिजन लिग तयारीका कारण यस बर्ष भने प्रतियोगिता आयोजनागर्न नसकिएको क्लवका अध्यक्ष किष्मतराज मैनालीले जानकारी दिए । मोफसलका यस्ता प्रतियोगितालाई प्रदेश लगाएत सरकारको तर्फबाट सहयोग नहुदा आयोजनामा चुनौती भएको उनको भनाई थियो ।