लालबन्दी–सर्लाहीको लालबन्दीबाट प्रहरीले एक थान पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।
सोमबार मध्यराती प्रहरीले लालबन्दी नगरपालिका–१५, बोहोरे डाँडाका ५० बर्षका रामलाल मोक्तानलाई पेस्तोल सहित पक्राउ गरेको हो । सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यलय जनकपुरको समन्वयमा ईलाका प्रहरी कार्यलय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वमा पुगेको टोलीले मोक्तानलाई हतियार सहित पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले मध्यराती मोक्तानको टालीले छाएको काठको दुई तलाको घर खानतलासी गरेको थियो । सोही क्रममा कालो झोलामा झुन्ड्याएर राखेको अवस्थामा मेडईन यूएसए लेखेको एक थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । बरामद हतियार सहित प्रहरीले मोक्तानलाई जिल्ला अदालतबाट अबैध हातहतियार खरखजाना मुद्दामा ५ दिनमो म्याद लिएर अनुसन्धान सुरु गरेको जनाएको हो ।