हरिवन–नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा ७५ जनाले रक्तदान गरेका छन् ।
बिहिबार सर्लाहीको हरिवन नगरपालिका–११, स्थित सगुन सहकारी प्रांगणमा शिविर सम्पन्न भएको हो । पत्रकार महासंघले २० औँ विश्व रक्तदाता दिवसको अवसरमा हरिवन नगरपालिकाको आर्थिक सहयोग तथा रक्तसञ्चार सेवा केन्द्र धनुषा र भैरवीदल गण पाँचकुमारी ब्यारेक सँगको सहकार्यमा आयोजना गरेको रक्तदान शिविरमा ७ जना महिला सहित ७५ जनाले रक्तदान गरेका हुन् ।
१३ जना संचारकर्मी, २५ जना सुरक्षाकर्मी र अन्य ३७ जना सर्वसाधारणले कार्यक्रममा सहभागी भई रक्तदान गरेका नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए । छोटो तयारीमा आयोजना गरिएको शिविरमा उत्साहाजनक उपस्थितीमा रक्तदान भएको अध्यक्ष क्षेत्रीको भनाई छ । संकलित रगत रक्त सञ्चार केन्द्र (ब्लड बैंक) धनुषा पठाइएको छ ।
हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा उद्घाटन भएको शिविरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, भैरवीदल गण पाँचकुमारीका गणपति एवं प्रमुख सेनानी सूर्यबहादुर कार्की, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी बल नेपाल नं. १० गण अगर्वाका निमित्त गणपति एवं सशस्त्र प्रहरी नायब उपरीक्षक रोहितबहादुर घिमिरेको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरी, बागमती सेवा समाज नेपालका पूर्व अध्यक्ष भरतकुमार कार्की लगायतको समेत सहभागिता रहेको आयोजक पत्रकार महासंघले जनाएको हो । कार्यक्रममा सहजिकरण गर्न सहयोग गर्ने स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
रक्तदाताहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराउने तयारी भईरहेको अध्यक्ष क्षेत्रीले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्णमा अध्यक्ष क्षेत्रीले आभार समेत प्रकट गरे ।