मलंगवा–‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले बालिकामाथि कसुर गरेको ठहर गरेको छ ।
सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवन कुमार भण्डारीको ईजलासले अभियुक्त बम्जनलाई कसुदार ठहर गरेको हो । सरकारी वकिल कार्यालयले पेश गरेको अभियोजन अनुसार ईजलासबाट बम्जनलाई दोषी ठहर भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । सजाय भने १७ गतेको ईजलासबाट तोकिने अधिकारीले बताए ।
अभियूक्त बम्जन हाल पूर्पक्षका लागि महोत्तरी कारागारमा रहेका छन् । फैसला पुर्व आजको ईजलासमा दुर्व तर्फका वकिलले अन्तिम बहस गरेका थिए । बहसमा ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ अभियोगमा बम्जन निर्दाेष रहेको दाबी सहित वरिष्ठ अधिवक्ता सिताराम केसी एवं अधिवक्ताहरु राम घिमिरे, मनोहर झा, राष्ट्र विमोचन तिमल्सिना र दिलिप झाले बहस गरे । भने, अभियोग बमोजिम कैद सजायको माग सहित जिल्ला सरकारी वकिल कार्यालय मलंगवाका प्रमुख जिल्ला न्यायधिवक्ता कैलाश दाहालले बहस गरेका हुन् ।
बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जन विरुद्ध २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएका थियो । बम्जनलाई सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश गरेको हो । यस पहिला बम्जनका वकिलहरुले २ तथा सरकारी वकिलले १ चोटी निवेदन दिएर बम्जन विरुद्धको मुद्धा पेशी चढेर पनि सारेका थिए ।
बम्जन बिरुद्ध ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दा दर्ता भएपछि सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–६ स्थित निवासबाटै गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो ।