बिष्णु–आगलागीबाट सर्वस्व गुमाएका बिष्णु गाउँपालिका स्थित बाराद्योरण गाउँका पीडितलाई एक गैर सरकारी संस्थाले खाध्यन्न सहयोग गरेको छ ।
आईतबार बागमती सेवा समाज नेपाल हरिवन र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) मलंगवाले वल्र्ड भिजनको सहयोगमा बाराउद्योरण स्थित पूर्वारी टोलका ६५ परिवारलाई खाध्यन्न सहयोग गरेका हुन् । एक परिवारलाई ४ हजार ५० रुपैयाँ बराबरको खाध्यन्न सामग्री प्रदान गरिएको बागमती सेवा समाज हरिवनका कार्यक्रम प्रमुख भरत कुमार कार्कीले जानकारी दिनुभयो ।
तत्कालका लागी खाध्यन्नको जोहो हुने गरी विभिन्न सामाग्री वितरण गरिएको कार्कीको भनाई थियो । प्रत्येक परिवारलाई २५ किलो चामल, ३ किलो दाल, २ लिटर तेल, २ किलो चिनी, २ किलो नुन र एक थान किचेन सामग्री प्रदान गरिएको राष्ट्रिय रोजगार प्रवर्धन केन्द्रका सन्जिव चौधरीले जानकारी दिनुभयो । बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवको उपस्थितिमा राहत वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनलका विनय अमात्य, लगाएतको उपस्थिती रहेको थियो । गत बिहीबार दिउँसोको लागेको भिषण आगलागीबाट बिष्णु गाउँपालिका–१, बाराउद्योरण गाउँको पुर्वारी टोलामा ६१ घर जलेर खरानी भएका थिए । आगलागीबाट पीडित परिवारको बिचल्ली भएको छ । पीडित परिवारले चर्को गर्मीमा त्रिपालको छाप्रोमा अनिदै रात कटाउनु परिरहेको छ ।
उक्त बस्तीका बालबालिका, गर्भवती तथा बृद्धबृद्धा थप समस्यामा परेका वडाध्यक्ष विकाउ ठाकुरले बताउनु भयो । पीडितहरुका लागि विभिन्न संघ संस्थाबाट खाध्यन्न राहत प्राप्त भईरहेको छ ।
यस्तै नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह र कांग्रेस मधेश प्रदेशका उपसभापति तथा प्रदेश सरकारका निवर्तमान स्वास्थ्यमन्त्री वीरेन्द्र प्रसाद सिंहले पनि आगलागी पीडितलाई सहयोग गर्नुभएको छ ।
सिंह दाजुभाईले व्यक्तिगत रुपमा आगलागी पीडितलाई राहत सामग्री प्रदान गर्नुभएको हो । उहाँहरुले पनि पूर्वारी गाउँमै पुगेर ६१ परिवारलाई प्रति परिवार २० केजी चामल, ५ केजी चिउरा, ३ केजी दाल, १ केजी नुन, ६ प्याकेट स्वाबिन, १ लिटर तेल, १ थान झुल, १ थान त्रिपाल, १ थान कम्बललगायतका सामग्री वितरण गर्नुभयो ।